जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले पाँच वर्षसम्म टिक्ने दिगो सरकारका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।
उनले अहिलेको निर्वाचन प्रणालीमा पनि सुधार गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा राखे ।
हिजाे पार्टीको १ नम्बर प्रदेश सम्पर्क समितिअन्तर्गत समितिका पदाधिकारीहरुसँगको भेटघाटमा अध्यक्ष राईले देशमा राजनीतिक स्थिरता चाहने हो भने दलहरुले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने आट गर्नुपर्ने बताए ।
उनले नेकपा एमाले पूर्ण समानुपातिक निर्माण प्रणालीमा र नेपाली कांग्रेस पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली दुवैमा असहमत रहेको औल्याए ।
उनले देशको अहिलेको शासकीय स्वरुपका कारण सांसदहरु नै किनबेच हुने र छिटो-छिटो सरकार ढल्ने र बन्ने अवस्था सिर्जना भएको बताए ।
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाँदा पनि बदमास राष्ट्रपति निस्के भने पाँच वर्षपछि जनताले अर्को उपयुक्त व्यक्तिलाई राष्ट्रपति छान्ने बताए ।
‘पाँच वर्ष उसलाई कसैले हटाउन सक्दैन, नसकोस् । हामीलाई पाँच वर्ष दिगो हुने खालको सरकार चाहिएको हो,’ उनले भने, ‘बदमास राष्ट्रपति निस्क्यो भने श्रीलङ्काको राष्ट्रपति राजापाक्षेलाई जस्तै लखेट्न पनि मिल्छ, गाली गर्न मिल्छ, आलोचना गर्न मिल्छ, अदालतमा मुद्दा चलाउन मिल्छ, संसदमा ठिङ्ग्राएर उसकाे विरोधमा बोल्न मिल्छ ।’
सांसदलाई मन्त्री नबनाऔं
अध्यक्ष राईले सांसदहरुलाई मन्त्री बन्ने बाटो बन्द गरिदिनुपर्ने धारणा राखे ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले नै विभिन्न क्षेत्रका विज्ञहरुबाट मन्त्रीहरु बनाउने व्यवस्था अपनाउनुपर्ने उनको भनाइ छ ।
‘सांसदहरु आउँछन्, कानुन बनाउँछन्,’ उनले थपे, ‘सांसदहरुले मन्त्री खाने बाटो बन्द गरिदिनुपर्छ । मन्त्रीचाहिँ राष्ट्रपतिले विज्ञहरुबाट बनाउँछ अमेरिकामा जस्तै ।’
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय निर्वाचन प्रणालीमा राष्ट्रपतिले सडक विभागका अनुभवी सेवानिवृत इन्जिनियरहरुमध्येबाट भौतिक पूर्वाधारमन्त्री या कानुनविद्हरुबाट कानुनमन्त्री बनाउन सक्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिले मन्त्रीहरु जो आउँछन्, उनीहरुलाई कति कुरा सिक्नै छ/सात महिना लाग्छ । अनि कर्मचारीले यसले त बुझेकै छैन भनेर यता घुमाउँछन्, उता घुमाउँछन् ।’
सङ्कीर्ण सोच
अध्यक्ष राईले कांग्रेस र एमालेका नेताहरुमा भएको सङ्कीर्ण सोचका कारण पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापित हुन नसकेको बताए ।
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा कांग्रेस असहमत छ, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा एमाले पनि असहमत छ,’ उनले भने, ‘यहाँ साथीहरुको सङ्किर्णताले पनि काम गरेको छ । किनभने समानुपातिक हिसाबले निर्वाचनमा जाँदाखेरि त महिलाको संख्या आधा नै आउँछ । अनि उनीहरुलाई के लाग्छ भने यो त पुरुषको अवसर काटियो भन्ने लाग्छ ।’
समानुपातिक निर्वाचन प्रणालीमा जाँदा आदिवासी जनजातिलाई ३७ प्रतिशत, मुसलमानलाई ४ प्रतिशत, मधेसीलाई १९ प्रतिशत, दलितलाई १४ प्रतिशत जाने र उनीहरुको भागमा थोरै मात्रै पर्ने नेता राईले बताए ।
आफ्नाे भागमा थोरै पर्ने भएकोले उनीहरुले समानुपातिक निर्वाचन प्रणाली अपनाउन नचाहेको उनको ठम्याइ छ ।
बहुमतीय निर्वाचन प्रणाली अलाेकतान्त्रिक
उनले बहुमतीय निर्वाचन प्रणाली सबैभन्दा गएगुज्रेको निर्वाचन प्रणाली भएको र युरोपमा आफ्नाे नाक राख्नका लागि मात्रै बेलायतले राखेको र अन्य कुनै पनि मुलुकले बहुमतीय निर्वाचन प्रणाली नमानेको बताए ।
बहुमतीय निर्वाचन प्रणालीमा अल्पमतले बहुमतमाथि शासन गर्ने उनको तर्क छ ।
‘मानौ एमालेले ३४ प्रतिशत भोट पाएर शासन गर्यो । ३४ प्रतिशत उसले पायो भन्नुको मतलव ६६ प्रतिशत त बाहिर छ नि !,’ उनले भने, ‘अनि ३४ प्रतिशतले ६६ प्रतिशतमाथि शासन गर्नु डेमोक्रेटिक हुन्छ ?, हुँदैन नि । त्यसो भएको हुनाले बहुमतीय निर्वाचन प्रणाली सैद्धान्तिक रुपमै गलत छ ।’
सहि कुरा हो