संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान हृदयघातबाट निधन भएको छ ।
उनलाई घरमै हृदयघात भएको थियाे । र, तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर, उनको बाटोमै निधन भएको थियाे ।
शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार उनलाई राति १ः२० बजे अस्पताल ल्याएको थियो ।
अस्पताल ल्याउँदा नै उनको शरीर चिसो भइसकेको थियो ।
अस्पतालले बिहान ४ः२० बजे औपचारिक रुपमा नेम्वाङकाे निधन भएको घोषणा गरेको हो ।
वाथरुम जाने क्रममा उनी ढलेका थिए ।
नेम्वाङको निधन भएपछि विभिन्न पार्टीका शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत अस्पताल पुगेका छन् ।
यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु पनि अस्पतालमा छन् ।
नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार दिनभरि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
पारिवारिक स्रोतका अनुसार नेम्वाङको अन्तिम संस्कार अष्ट्रेलियाबाट छोरा आएपछि मात्रै हुनेछ ।
किरात मुन्धुम संस्कृतिअनुसार उनकाे अन्तिम संस्कार गरिनेछ ।
नेम्वाङकाे राजनीतिक जीवन
नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।
उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए ।
नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहे । उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम-२ बाट विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहे ।
कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भए उनी ।
२०७४ को संसदीय निर्वाचनमा एमाले-माओवादी गठबन्धनबाट उनी विजयी भए ।
गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरेका थिए ।
कानूनमा स्नातक गरेका नेम्वाङ केही समय कानून व्यवसायमा पनि थिए ।
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बने ।
२०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संगठित भए ।
२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध भए ।
२०५४ को छैटौं महाधिवेशनदेखि उनी निरन्तर एमाले केन्द्रीय कमिटीमा छन् ।
२०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए । २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष थिए ।