किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले कोशी प्रदेश नामकरण गर्ने दलहरुको झन्डा गल्ली गल्लीमा खोस्ने चेतावनी दिएका छन् ।

कोशी नामकरण सरकारले नै गरेको हो भने सरकारको झन्डा पनि खोस्ने उनको भनाइ छ ।

शनिबार इटहरीमा कोशी नाम खारेजको आन्दोलनमा ऐक्यबद्धता जनाउन आयोजित संयुक्त ऐक्यबद्धता सभामा येक्तेनले कोशी नामकरण गर्ने दलहरुको झन्डा खोस्ने बताएका हुन् ।

सभाका पूर्ववक्ता एवम् नेवा देय दबुका उपाध्यक्ष उमेश स्थापितले आफूहरु कार्यक्रममा सहभागी हुन काठमाडौंबाट इटहरी आइरहेको बेला प्रहरीले आफूहरुलाई झन्डा फहराएर हिँड्न रोकेको बताएका थिए ।

सोही प्रसंग निकाल्दै येक्तेनले भने, ‘हामीले भर्खर सुन्यौं, हाम्रो पहिचानको झन्डाहरु खोसिन्छन् अरे । ठिकै छ, तपाईंहरु खोस्नुहुन्छ । हामी कोशी नामाकरण गर्ने नाइकेको झन्डा गल्ली गल्लीमा खोस्ने छौं । यदि, यो सरकारले गरेको हो भने सरकारको झन्डा पनि खोस्ने छौं ।’

उनले इलाम क्षेत्र नं २ मा निर्वाचन लड्न आउँदा कोशी नामकरण गर्ने दलका नेताहरुलाई आप्mनो झन्डा सुरक्षित राखेर आउन सुझाव दिए ।

‘कोशी नामकरण गर्ने, षडयन्त्र गर्ने दलका नेता तपाईंहरु तपाईहरुको झन्डा लिएर केही दिन पछाडि इलामको क्षेत्र नं २ मा निर्वाचन लड्न आउनुहुन्छ होला,’ उनले भने, ‘तपाईंहरुको झन्डा सुरक्षित राख्नुहोला । नत्र हामी गल्ली गल्लीमा छिर्न दिने छैनौं ।’

उनले कोशी नाम खारेज विरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउनेहरुप्रति आभार प्रकट गर्दै पहिचानको लागि ज्यान दिन तयार रहेको पनि बताए ।