नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्दैगर्दा अध्यक्ष केपी ओली तुल्सीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनमा बोल्दै थिए ।
नेता नेपालले एमालेका साविकका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसदलाई आफ्नोतर्फ तानेपछि ओलीले पत्रकार सम्मेलन गरेर मूलतः दुईवटा सन्देश दिएका छन् ।
विगतका पटकपटकका भाषणमा ‘केपी ओली एउटै कक्षा दोहोर्याएर पढ्दैन’ भन्दै आएका उनले बुधबारको पत्रकार सम्मेलनमा ‘अनुकूल समयमा मात्र नेतृत्व हस्तान्तरण’ गर्ने घोषणा गरेका छन् ।
मंगलबार बसेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनको अर्को सन्देश छ– माधव नेपालहरू गइसकेपछि महाधिवेशनअघिसम्मका लागि माओवादी केन्द्रबाट आएका, माधव नेपाललाई छाडेर आएका र विगतदेखि आफैसँग रहेका नेताहरूलाई मिलाएर समन्वयकारी भूमिका निर्वाह गर्ने ।
१० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन गर्न कार्यदल बनाएर विगतमा नेपालसँग रहेका १० जना स्थायी कमिटी सदस्यहरूसँग समन्वयकारी भूमिका निभाउने उनको रणनीति देखिन्छ ।
माओवादी केन्द्रवाट आएकाहरू हाल जिम्मेवारीविहीन भए पनि उनीहरूलाई रचनात्मक जिम्मेवारी दिने प्रतिबद्धता जनाएर रामबहादुर थापा बादलसहितका नेतासँग पनि तत्कालका लागि समन्वयकारी भूमिका निर्वाहको संकेत गरेका छन् ।
तर, विगतमा उनी निकट मानिने नेता शंकर पोखरेलको अभिव्यक्तिले भने ओलीले भनेको उपयुक्त समय अर्थात् मंसिरमा हुने महाधिवेशनबाट उनले नेतृत्व सहज हस्तान्तरण गर्लान् भन्नेमा भने शंका जन्माएको छ ।
पोखरेलले तीन दिनअघिमात्र एमाले अर्को एउटा निर्वाचन र एउटा पार्टीको महाधिवेशनसम्म ओलीकै नेतृत्वमा जाने घोषणा गरेका थिए ।
विश्वासपात्र भनिएका पोखरेलको यो अभिव्यक्तिको तीन दिनपछि ओलीले नेतृत्व हस्तान्तरणबारे उपयुक्त समयमा निर्णय लिने बताएर पोखरेलकै वाटोमा जाने संकेत त गरेका हैनन् भन्ने प्रश्न भने उब्जिएको छ ।
माधव नेपालले एमाले छाडेपछि ओलीलाई चुनौती दिने नेता अहिलेका लागि पार्टीमा देखिएका छैनन् । ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङलाई माधव नेपाललाई छाडेर आएका भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरूले विश्वास गर्ने सम्भावना निकै कम छ ।
त्यसैले पनि शंकर पोखरेलले अर्को एक आमनिर्वाचन र महाधिवेशनपछिसम्म ओली नै पार्टीको नेतृत्वमा रहने उद्घोष गरेका हुन् । न्युज कारखाना