वैकल्पिक राजनीतिक शक्तिको नाममा राजतन्त्र र हिन्दू राज्यको पक्षमा गतिविधि गरिरहेका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रमाथि उनकै कार्यकर्ताहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले पार्टीमा हिन्दू धर्मावलम्बी बाहेककाहरुलाई पनि अटाउने वातावरण बनाउन आग्रह समेत गरेका छन् ।

मिश्रले गत १४ जनवरीमा जनै देखाउँदै ‘जनैको रक्षा अरु पार्टीले गरेनन् हाम्रो पार्टीले गर्छ’ भनिरहेको आफ्नाे एक कार्यकर्ताको भिडियो सेयर गरेपछि आज पार्टीका केन्द्रीय अभियान विभाग सदस्य पवन थापा मगर, सुनसरी जिल्ला सदस्य उपार्जुन चाम्लिङ, बागमती प्रदेश सदस्य युजन राजभण्डारी, अभियान विभाग प्रमुख धरान उपमहानगरका नवीन राई, सोही उपमहानगरका सचिव प्रवीन राई र इनरुवा नगर संयोजक रोहन दंगालले अध्यक्ष मिश्रको कार्यशैलीमाथि आपत्ति जनाएका हुन् ।

सुनसरी जिल्ला सदस्य चाम्लिङले ६ जनाकै नाम राखेर ‘गम्भीर आपत्ति’ भन्दै विज्ञप्ति सार्वजनिक गरेका छन् ।

उनीहरुले जनै देखाउँदै हाम्रो पार्टीले जनैको रक्षा गर्छ भन्ने पार्टीको कार्यकर्तालाई सचेत गराउनुपर्ने र सो भिडियो सेयर गरेबापत मिश्रले समेत क्षमा माग्नुपर्ने उल्लेख गरेका छन् ।

‘२०७८ माघ १ गते विवेकशील साझा पार्टीको प्रदेश नं २ को कुनै एक सार्वजनिक कार्यक्रममा पार्टीका एकजना सचिवालय सदस्यले जनै देखाउँदै ‘जनैको रक्षा अरु पार्टीले गरेनन्, हाम्रो पार्टीले गर्छ’ भन्दै अत्यन्त आपत्तिजनक अभिव्यक्ति दिएको र पार्टी अध्यक्ष रवीन्द्र मिश्रले सो अभिव्यक्तिको प्रचार प्रसार गरेकोमा हाम्रो घोर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपालका जनजाति, गैरहिन्दू धर्मावलम्बीलाई पार्टीप्रति अनास्था जगाउने त्यस्तो अभिव्यक्ति दिने नेतालाई सचेत गराउँदै अध्यक्ष मिश्रलाई समेत क्षमा मागेर नेपालको संवैधानिक प्रावधान र नेपाली समाजको बहुलवादी, सहिष्णु विशेषताको सम्मान गर्न साथै हिन्दू धर्म इतरकाहरुलाई पनि पार्टीमा अटाउने वातावरण बनाइराख्न अनुरोध गर्दछौं ।’

मिश्रले सेयर गरेको भिडियो लिंकसहितको स्टाटस अनुसार हाम्रो पार्टीले जनैको रक्षा गर्छ भन्ने नेता चन्द्रनिगाहपुर–२ का नारायण कोइराला हुन् ।

मिश्रले सेयर गरेकाे भिडियाेकाे स्कृनसट

गाउँपालिका महासंघका पूर्वअध्यक्ष समेत रहेका कोइराला कांग्रेस छोडेर विवेकशील साझा पार्टीमा आवद्ध भएको मिश्रले उल्लेख गरेका छन् ।