वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङको केपीलासगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धन बनेको छ ।
गाउँपालिका अध्यक्षको रुपमा एकीकृत समाजवादीबाट माइतीराज राई र उपाध्यक्षमा जनता समाजवादीबाट गुरुराज राई साझा उम्मेदवार छन् ।
प्रस्तुत छ, जनता समाजवादीका नेता तथा गठबन्धनका उपाध्यक्षका उम्मेदवार गुरुराज राईसँग साल्पा अनलाइनका लागि विजय चाम्लिङले गरेको कुराकानीको सम्पादित अंशः
केपीलासगढीमा गठबन्धन बनेपछि जनताको प्रतिक्रिया के छ ? र तपार्ईंहरुले जित्ने आधार चाहिँ के हो ?
गठबन्धनले जित्ने सम्भावना धेरै छ । आधारहरु भनेको योभन्दा अगाडि २०७४ सालकै निर्वाचनलाई मध्यनजर गर्दा पनि माओवादी केन्द्रले त्यतिबेला ९०० को हाराहारीमा मत ल्याएको थियो । तत्कालीन संघीय समाजवादी फोरमले ६०० मत ल्याएको थियो । दुवै जोड्दा १५०० मत भयो । त्यतिबेला विजय हुने उम्मेवारले ल्याएको मत भनेको १८०६ हो ।
अहिले जनता समाजवादी पार्टी नेपाल भएपछि हाम्रो संगठन वृद्धि भएको छ र नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी भएको छ । त्यसो भएको हुनाले हामीले जित्न यही आधार काफी छ ।
तपाईंहरुले जनताको बिचमा जाँदा केके एजेन्डा उठाउनुभएको छ ? या के गर्छौ भनेर अगाडि बढिरहनुभएको छ ?
हामीले विशेष गरेर युवाहरुलाई विदेशमा होइन स्थानीय तहमै उत्पादनमूलक, आयमूलक कृषिमा, व्यवसायमा इंगेज बनाउनुपर्छ भन्ने मूल उद्देश्य लिएका छौं ।
यसबारे जसरी नेपालमा बेरोजगारीको समस्या छ, युवाहरु विदेशिनु परेको छ रोजगारीको लागि । भोलि तपाईंहरुको टिम निर्वाचित हुनुभयो भने ठ्याक्कै रोजगारी सिर्जना गर्न र युवाहरुलाई यही राख्नका लागि कस्तो खालको कार्यक्रम ल्याउनुहुन्छ ?
युवाहरुलाई देशमै रोजगारी दिन सकिने धेरै आधारहरु छन् । मैले र हाम्रो गठबन्धनले घोषणापत्रमै उल्लेख गरेर सार्वजनिक गर्दैछौं कि गाउँपालिकाले केही गर्छौ भन्ने युवालाई अनुदान प्रदान गर्न सक्छ ।
हामी कम्तीमा एक वर्षमा १०० जना युवालाई अनुदानको व्यवस्था गर्छौ । पाँच वर्षमा ५०० जना वा सोभन्दा बढीले पनि अनुदान पाउने छन् ।
अनुदान कुन कुन क्षेत्रमा दिन सकिन्छ ?
पशुपालनदेखि लिएर अन्य जुनसुकै पनि व्यवसायहरु जुन स्थानीय स्तरमा गर्न सकिन्छ, तरकारीखेतीदेखि लिएर हरेक कुरा, मौरीपालन, फलफुलखेती, साना उद्योगदेखि लिएर हरेकमा अनुदान दिन सकिन्छ ।
योभन्दा अगाडिको सरकारले काम गर्दा आफ्नाे पार्टीकाेलाई मात्रै आफन्तलाई मात्रै अनुदान दिने गरेको भन्दै अनुदान दिने प्रणाली नै गलत रुपमा प्रयोग भयो भन्ने गुनासो पनि छ नि त ?
हो, त्यो गुनासो छ । तर, हाम्रो गठबन्धनले जितेको अवस्थामा हामी त्यो खालको व्यवस्था बिल्कुल अन्त्य गर्छौ ।
हामी अहिले कुनै पनि राजनीतिक दलको नेता–कार्यकर्ता होला । तर हामीले निर्वाचन जितिसकेपछि हामी समग्र केपीलासगढी गाउँपालिकाको जनताको सेवक हुन्छौं । हामी शासक होइन सेवक बन्छौं ।
त्यसकारण हामी हाम्रो कार्यकर्ताहरुलाई मात्रै नभएर गाउँपालिकाको सिंगो जनताको संरक्षणको लागि प्रतिवद्धता जाहेर गर्छौ । हामी जुन कुरा घोषणापत्रमा ल्याउँछौ, त्यो काम गर्ने कसम पनि खान्छौं ।
यसअघि गाउँपालिका अध्यक्षहरुले वा मेयरहरुले २०७४ सालको निर्वाचनमा जे प्रतिवद्धता जनाउनुभएको थियो त्यो अनुसारको काम गरेको देखिएन । भोलि तपाईंहरुको टिमले जितेपछि पनि त्यस्तै होला नि ?
कमसेकम हामीले जितेको पहिलो वर्ष केपीलासगढी गाउँपालिकासँग जोडिएको वडा कार्यालयहरुको भवनसम्मको सडकहरु चाहिँ बाह्रै महिना चल्ने बनाउँछौं ।
यसमा मेरो भनाइ के छ भने अहिले हामीसँग प्रतिस्पर्धा गर्ने अन्य दलका जति पनि साथीहरु हुनुहुन्छ, उहाँहरुलाई पनि म के अपिल गर्छु भने हामीले लिखित रुपमा ल्याउने घोषणापत्र सार्वजनिक गर्ने बेला सबै दलका साथीहरु भेला होऔ, सबै जनतालाई बोलाऔ, आ–आफ्नो घोषणापत्र सार्वजनिक गरौं ।
सार्वजनिक गरिसकेपछि घोषणापत्रमा लेखिएको सबै कुराहरु म भोलि कार्यान्वयन गर्छु भनेर लिखित कागज बनाउन तयार होऔ, हामी तयार छौं ।
यसमा जसपा मात्रै होइन माओवादी र नेकपा एस पनि तयार छ ?
तयार छ । भोलि हामीले कार्यान्वयन गर्न सकेनौ भने हामी जनताले दिने जस्तोसुकै सजाय भोग्न पनि तयार छौं । यसमा सबै दल तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
योभन्दा अगाडि तपाईंहरुको पालिकामा एमालेले जितेको थियो । खोटाङभरिकै स्थिति हेर्दा एमालेको दबदबा छ अहिले पनि, त्यसपछाडि कांग्रेस हो । त्यो एमालेबाट जितेका प्रतिनिधि वा स्थानीय सरकारको नेतृत्व गर्नेहरुले के कमजोरी गरे होला ? उनीहरु सफल कि असफल ?
स्थानीय सरकारमा नेकपा एमालेका साथीहरुले जति जित्नुभो, उहाँहरुले अघि तपाईंले प्रश्न गर्नुभएको जस्तै भोलि गएर कार्यकर्तालाई मात्रै संरक्षण गर्ने त होइन ? भोलि जनताले तपाईंले भनेको सेवा सुविधा पाउँछन् त ? भनेर जुन प्रश्न गर्नुभयो, त्योचाहिँ ठ्याक्कै आफ्नाे कार्यकर्ता, आफ्नाे नातागोतालाई संरक्षण गर्ने काम मात्रै गर्नुभयो । दीर्घकालीन कामहरु हुन सकेन ।
स्थानीय सरकारमा उहाँहरु बहुमतमा हुनुहुन्थ्यो, प्रदेश १ मा पनि बहुमतको सरकार एमालेकै थियो, संघीय सरकारमा पनि झन्डै दुई तिहाइको नजिकमा नेकपाकै सरकार थियो ।
त्यस्तो अवस्थामा पनि एउटा तापखोलामा मोटरेबल पुल स्थानीय तहमा आएको ६, ७ करोड बजेट खर्च गरेर बनाइएको छ । यसबाटै थाहा हुन्छ कि उहाँहरुसँग विकास गर्ने भिजन नै थिएन ।
उहाँहरुको भौतिक विकास निर्माणमा असफलता भयो भन्न खोज्नुभएको हो ?
हो, केही प्रतिशत मात्रै होइन, पूर्णरुपमा असफल भएको हो । उहाँहरु असक्षम यस कारणले हो कि त्यो मोटरेबल पुल स्थानीय सरकारको बजेटले बनाइयो । त्यो त प्रदेश सरकारसँग माग गर्न सक्नुहुन्थ्यो, संघीय सरकारसँग माग गर्न सक्नुहुन्थ्यो ।
उहाँहरु योग्य भइदिएको भए उहाँहरुले संघीय सरकारबाट, प्रदेश सरकारबाट पर्याप्त बजेट भित्र्याउन सक्नुपथ्र्यो ।
तर नयाँनयाँ ठाउँमा सडक निर्माण गर्ने काम अगाडि बढेको छ । धुले सडक नै भए पनि गाडी नपुगेको ठाउँमा गाडी पुर्याइएको छ यो पाँच वर्षको अवधिको उपलब्धी होइन र ?
धुले सडक खनेर विकास गरे भन्नु चाहिँ व्यर्थ जस्तो लाग्छ मलाई । त्यो धुले सडक पनि स्थानीय सरकारको बजेटले खनेको होइन ।
धुले सडकहरु खनिएका छन् । तर त्यो अस्वाभाविक हिसाबले खनिएको छ । कति खन्नुपर्ने र कुन टोलमा सडक पुर्याउनुपर्ने भन्ने कुरालाई पनि मध्यनजर नगरीकन दुईटा घर छ भने त्यहाँ भोट माग्नका लागि सडक पुर्याइहाल्ने, अनकन्टारमा तीन घर छ भने त्यहाँ पनि सडक पुर्याइहाल्नुपर्ने । त्यो खालको मनस्थितिले विकास होइन केपीलासगढीलाई विनाशतिर धकेलिएको छ ।
धुले सडकको कारणले गर्दा बर्खायाममा राति पानी परेको बेला जागो बस्नुपर्ने अवस्था आएको छ । पहिरो झरेर बगाइलाने हो कि, माथिबाट आएको भल घरैको कुलेसोमा बज्रिदिन्छ, बगाएर पो लान्छ कि भन्ने डर छ । त्यो विकास होइन भोट फकाउने आइडिया मात्रै हो । विकास हो भने मुख्य मुख्य सडकहरुलाई बाह्रै महिना चल्ने बनाउनुपथ्र्यो ।
तपाईंले चाहिँ कसरी सोचिरहनुभएको छ, तपाईंहरुले जित्नुभयो भने गाउँपालिकाको भौतिक पूर्वाधारको विकासदेखि लिएर कृषि, पर्यटन, साना उद्योग, यी विषयमा तपाईंहरुको मूल भिजन के छ ?
म यहाँलाई भनौ, सडकको सम्बन्धमा हाम्रो भिजन केपीलासगढी गाउँपालिकामा आउने स्थानीय सरकारको बजेटबाट हामी कालोपत्रे गर्छौ भनेर जनतालाई झुक्याउन चाहँदैनौ ।
हामी कालोपत्रको लागि पहल गर्छौं, संघीय सरकार र प्रदेश सरकारसँग माग गर्छौ । तर, कमसेकम हामीले जितेको पहिलो वर्ष केपीलासगढी गाउँपालिकासँग जोडिएको वडा कार्यालयहरुको भवनसम्मको सडकहरु चाहिँ बाह्रै महिना चल्ने बनाउँछौं ।
र, कृषि क्षेत्रको कुरा गर्नुभो यहाँले, हामी अत्यधिक मात्रामा कृषिमा लगानी गर्छौ र उत्पादन गरिसकेपछि कुन बजारमा लाने त ? भन्ने प्रश्न आउन सक्छ । उत्पादन त गर्यो तर कहाँ लाने बेच्न ? भन्ने कुरा आउन सक्छ ।
जनता समाजवादी पार्टी नेपालले दुई वर्ष अगाडि १६ बुँदे ज्ञापनपत्र केपीलासगढी गाउँपालिकालाई बुझाएको थियो । त्यहाँ धेरैजसो कृषि उपजको कुरा राखेका थियौ ।
केपीलासगढीमा हामीले जित्यौ भने जनताले उत्पादन मात्रै गरिदिनुपर्छ, केपीलासगढीको आफ्नै गाडी कृषकहरुको घुर्यान घुर्यान पुर्याएर संकलन गर्छौ र एउटा पालिकास्तरीय संकलन केन्द्र वा कोल्डस्टोर स्थापना गर्छौ र त्यहाँ बिक्री भएको त्यही बिक्री गर्छौ, नभएको चिज धरान, काठमाडौं कहाँ लगेर बेच्नुपर्ने हो त्यो व्यवस्था हामी मिलाउँछौं ।
त्यो भनेको तपाईंहरुले जिम्मा लिनुहुन्छ ? कृषकले उत्पादन दियो भने त्यसको बजार मूल्य दिनुहुन्छ ?
दिन्छौं, हामी कृषकलाई उचित मूल्य दिन्छौं । हामी कृषकलाई उत्पादन गरेको चिजहरु बिक्री हुँदैन कि, कुहिएर जाने हो कि भन्ने टेन्सनबाट मुक्त गराउँछौं ।
हामी उहाँहरुको बारीबारीमा गएर जहाँसम्म मोटर चल्छ, जहाँसम्म सडक गएको छ, त्यहाँसम्म गएर संकलन गर्छौ । संकलनको लागि कर्मचारी राख्छौं । त्यो सबै कुरा भोलि हामी जितेर गयौ भने त्यो काम स्थानीय सरकारबाट गर्ने रिस्क लिन्छौं ।
तपाईं त उपाध्यक्षको ठाउँमा हुनुहुन्छ । एक किसिमले भन्ने हो भने अध्यक्षको सहयोगीको रुपमा रहने हो उपाध्यक्ष । मुख्य त अध्यक्ष नै हो जितिसकेपछि के के गर्ने उसको भिजन लागू गर्ने कुरामा । अध्यक्ष र तपाईंहरुको टिम नै प्रतिवद्ध हुनुहुन्छ त यसमा ?
हामीले अहिले छलफल गरिराखेका छौं । छलफलमा यो विषय राखेका छौं । यो खालको भिजन ल्याउनुपर्छ र कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा गरिराखेका छौं ।
यसमा अध्यक्ष प्रतिवद्ध हुनुभएन भने उहाँ अल्पमतमा पर्नुहुन्छ । उहाँले गर्नुभएन भने म एक्लै पनि केपीलासगढी गाउँपालिकामा यो कुरालाई कार्यान्वयन गर्न लाग्छु, मेरो साथमा जनता हुनेछन् । यसलाई हामी कार्यान्वयन गरेर जान्छौं ।
अन्त्यमा तपाईंहरु ठुलो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेसँग लड्दै हुनुहुन्छ । नेपाली कांग्रेस कमजोर छैन, बलियो छ । तपाईंहरुलाई जित्न गाह्रो होला नि त ?
हो, नेपाली कांग्रेस अहिले निकै बलियो दल हो । तर जनतालाई बलियो दलको आधारले होइन, भिजन र व्यक्तिको व्यवहार उम्मेदवारको व्यवहारसँग पनि जोडिन्छ । हामीले निर्वाचन जित्ने प्रबल सम्भावना छ भनेर मैले अघि पनि आधारहरु भनिसकेँ ।
एउटा प्रसंग जोडौ, केपीलासगढीको पर्यटकीयस्थल कुन कुन हुन्, त्यसलाई कसरी विकास गर्न सकिन्छ ?
केपीलासगढीमा पर्यटकीय स्थलहरु धेरै छन् । तपाईंलाई सटिकमा एउटा कुरा भन्छु । योचाहिँ नेपालकै सन्दर्भमा पनि नयाँ होला ।
केपीलासगढी गाउँपालिकामा दुईटा खोला छ, रावाखोला र तापखोला । जसको शिर एकै ठाउँ छ । रावाखेला चाहिँ सुङदेल, दिप्सुङ, बाक्सिलाको फेदीफेदी हुँदै दुधकोशीसम्म बगेर झर्छ । र तापखोला फेदी, खार्तम्छा, पातेखा, खार्मी, जाल्पा हुँदै तल दुधकोशीसम्मै झर्छ । त्यो खोलालाई पर्यटकीयस्थलको रुपमा स्थापना गर्न सक्छौ । कसरी भन्ने प्रश्न आउन सक्छ ।
खोलालाई अहिले हामीले करेन्ट लगाएर, दुवाली छेकेर हरेक किसिमले माछा मारेर उपभोग गरिरहेका छौं । यसलाई हामी पर्यटकीयस्थलमा बदल्न सक्छौं ।
खोलालाई तीन वर्षसम्म माछा मार्न पुरै बन्द गरिदिने र तीनदेखि पाँच किलोमिटरको दुरीमा २०,२० वटा माछापोखरीहरु निर्माण गर्ने खोलाको किनार किनारमा र त्यहाँ होमस्टेहरुको स्थापना गर्ने र त्यसलाई रावाखोला र तापखोलाको तल दुधकोशीबाट जसरी हामी छुट्छौं । रावाखोलापट्टि पनि जान सकिन्छ, तापखोलातिर पनि जान सकिन्छ र माथि साल्पा सिलिचुङसम्म मुन्दुम ट्रेलसँग जोडिने पदमार्ग निर्माण गर्छौ ।
त्यो काम गर्न स्थानीय सरकारको बजेट पर्याप्त नहुन सक्छ । त्यसका लागि प्रदेश सरकार र संघीय सरकारसँग हामीले पहल गर्छौ ।
तपाईंले खोलाको माछा मार्न नदिने त्यसलाई सुन्दर पर्यटकीयस्थल बनाउने त भन्नुभो तर अहिले गाउँघरतिर आम चलन के भइसक्यो भने करेन्ट लगाउने विभिन्न खालको रसायनिक विषहरु खोलामा लगाएर माछा मार्ने, यो कार्य रोक्न सकिएको छैन नि, तपाईंहरु कसरी रोक्न सक्नुहुन्छ ?
यो अत्यन्तै राम्रो प्रश्न गर्नुभो । मैले अघि तपाईंलाई भनेको छु हामीले तीनदेखि पाँच किलोमिटरको दुरीमा २० वटा पोखरी बनाउँछौ र त्यहाँ होमस्टेहरु निर्माण गर्छौ भनेर मैले भनेको छु । होमस्टे र पोखरी हेर्नका लागि हामी कर्मचारीहरु राख्छौं र त्यो कर्मचारीले नै खोलाको निगरानी गर्छ ।
खासगरी रातिको समयमा करेन्ट लगाउने समस्या छ गाउँघरतिर, रातिको समयमा युवाहरु भेला भएर थकौली बोकेर टर्च बालेर करेन्ट लाउन हिड्ने गर्छन् । त्यसो गर्दा खोलाको माछा पनि सकिने भयो, खोलाको सुन्दरता पनि नहुने भो, त्यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
यसलाई हामीले सुरक्षाको लागि जुन कर्मचारीहरु राख्छौं उनीहरुलाई हामी राति पनि खटाउँछौं । हामी स्थानीय प्रशासनसँग पनि सहयोग माग्छौं ।
हामीले जसले त्यो काम गर्छ उनीहरुलाई कडाभन्दा कडा सजाय दिने स्थानीय कानुन बनाउँछौ । ताकि जसले त्यो काम गर्छ उसले भुलेर पनि फेरी त्यो गलत काम गर्ने छैन ।
तपाईंलाई अन्तिममा एउटा साझा प्रश्न छ, अहिले खेतीकिसान गर्नेहरु निकै कम छन् । भएकाहरुले जसरी खेती गरिरहेका छन् उनीहरुको बाली पनि जंगली जनावरहरुले खाइदिने गरेका छन्, खासगरी बाँदर फैलिएर बाली खाइदिने अहिलेको समस्या छ, यो खोटाङ जिल्लाको मात्रै नभएर देशकै समस्या पनि हो । बाँदरलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? यसमा तपाईंहरुले के सोचिरहनुभएको छ ?
यो सम्बन्धी चाहिँ ठ्याक्कै यही गर्नुपर्छ भन्नेमा म अहिले जानकार छैन । यसको लागि म विज्ञ पनि होइन । तर बाँदरलाई कसरी हटाउन सकिन्छ ? कसरी कृषकहरुले लगाएको बाली भित्राउने वातावरण बनाउन सकिन्छ ? भन्ने कुरामा चाहिँ हामी विज्ञहरुसँग परामर्श लिन्छौं ।
बाँदर मारेर सिध्याउनु पनि त भएन, होइन ?
हो, त्यो त अपराध हो । त्यसो गर्न कानुनले पनि दिदैन । तर बाँदरबाट कसरी बालीनाली जोगाउन सकिन्छ भन्नेमा हामी गम्भीर छौं, गम्भीर भएर लाग्छौं ।