श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् ।
श्रीलंकाका लाखौं नागरिकले प्रदर्शनसहित राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने प्रयासमा थिए ।
यसअघि देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए ।
राष्ट्रपति गोटाबायाले स्थानीय समय अनुसार मंगलबार ३:०० बजे कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंकाको सैन्य विमानसँगै देश छाडेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।
राष्ट्रपति राजापाक्षे केही सैनिक सुरक्षा र परिवारको साथमा माल्दिभ्स पुगेको बताइएको छ ।
बीबीसीका अनुसार ७३ बर्षीय राष्ट्रपति गोटाबायासँगै उनकी श्रीमती र अंगरक्षकसहित चार यात्रु रहेका छन् । बीबीसीका अनुसार राष्ट्रपतिका भाई एवं पूर्व फाइनान्स मन्त्री बासिल राजपाक्षे पनि देश छाेडेका छन् ।
राजपाक्षेलाई माल्दिभ्समा अवतरणको अनुमति नदिईँदा केही समय अन्योलमा परेको र उनको विमान एक घण्टाभन्दा बढी समय टार्माकमा रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।
अध्यागमनका अधिकारीहरूले उनको राहदानीमा छाप लगाउन विमानस्थलको भीआईपी कक्षमा जानबाट समेत रोकेका थिए ।
यसअघि पनि देश छाड्न प्रयास गरेका उनलाई भारतले श्रीलंकाको सैन्य विमान अवतरण गर्न अनुमति दिएको थिएन भने अमेरिकी दूताबासले समेत भ्रमण भिसा दिन अस्वीकार गरेको थियो ।
राष्ट्रपतिले देश छाडेको खबर सार्वजनिक भएपछि राजधानी कोलम्बोको प्रमुख प्रदर्शनस्थलमा सर्वसाधारण मानिसले उत्सव मनाएका छन् ।
