बायुङ राईको मौलिक ज्ञान र दर्शन संरक्षण गर्न तुम्लो कार्यशाला हुँदै

किरात बायुङ राई समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘बायुङ राई तुम्लो कार्यशाला–२०८३’ आयोजना हुने भएको छ।

किरात बायुङ राई सुम्निखिम (कि.बा.रा.सु.) को आयोजनामा आगामी २०८३ पुस ४, ५ र ६ गते काठमाडौंमा कार्यशाला सञ्चालन हुन लागेको हो। आइतबार (कात्तिक २९) कोटेश्वरमा आयोजित एक औपचारिक कार्यक्रममार्फत उक्त जानकारी दिइएकाे हाे।

कार्यक्रममा सुम्निखिमका खोज तथा अनुसन्धान विभाग प्रमुख लोकबहादुर बायुङ राईले स्वागत मन्तव्य राख्दै हालसम्म अस्तित्वमा रहेका बायुङ राई समुदायका विविधतायुक्त तुम्लोयालोहरूको एकीकृत संरक्षण आवश्यक रहेको बताए। उनले यस कार्यमा देखिएका चुनौतीको सामना गर्न समुदाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

त्यसैगरी, सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञानबहादुर बायुङ राईले कार्यशालाका उद्देश्यहरू प्रस्तुत गर्दै बायुङ राई नेपाल मात्र नभई विश्वकै एक आदिवासी/मूलवासी समुदाय भएको बताए।

विश्वभर आदिवासी/मूलवासी समुदायसम्बन्धी अध्ययन तथा अनुसन्धान हुँदै आए पनि बायुङ राईसँग सम्बन्धित अध्ययन अनुसन्धान अत्यन्त न्यून रहेको उनको भनाइ थियो।

मौखिक तथा अलिखित रूपमा पुस्तान्तरण हुँदै आएको र ‘करङ वेद’का रूपमा समेत परिचित बायुङ राई समुदायको तुम्लोयालो तुम्लोचा (मुन्दुमसम्बन्धी सामुदायिक मान्यता प्राप्त सम्माननीय व्यक्तित्व) हरूको भौतिक अवसानसँगै लोप हुने जोखिम रहेकाले कार्यशाला आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए।

कार्यशालाको मुख्य उद्देश्य बायुङ राई समुदायको स्याङ्गिरी (जरा) खोजी गर्नु रहेको उनले जानकारी दिए। साथै, मौलिक तुम्लोदर्शनमा आधारित ज्ञान, सीप तथा प्रविधिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु पनि कार्यशालाको उद्देश्य रहेको जनाए।

कार्यक्रममा सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञानबहादुर बायुङ राई, उपाध्यक्षद्वय प्रेमकुमारी बायुङ राई र दीपक बायुङ राईलगायतले सामूहिक रूपमा कार्यशालाको लोगो सार्वजनिक गरेका थिए।

बायुङ राई भाषा, संस्कार, संस्कृति, तुम्लोयालो (मुन्दुम दर्शन), इतिहास, कला, साहित्य र संगीतको उत्थान तथा सामुदायिक उन्नयन गर्ने उद्देश्यले स्थापित सुम्निखिमले मौखिक तथा अलिखित रूपमा अस्तित्वमा रहेका तुम्लो (संस्कार, प्रकृति र पितृपूजा), दोःचा, मौलिक स्थाननाम, वंशावली तथा भाषासम्बन्धी खोज तथा अनुसन्धानलाई कार्यशालाको मुख्य विषय बनाएको छ।

कार्यशालामा बायुङ राई समुदायको थातथलोमा रहेका तुम्लोका स्रोत व्यक्ति तथा देश–विदेशमा रहेका रिक्चोब्व्आ, मुलीमी, ध्यावा/धेवा/नक्स, ङाबुचा, तुम्लोचा, सेलेली/झाम्चा, मसिमी, मसिचा, चिचा र लिङ्खाम कोक्आलगायतको सहभागिता रहने जनाइएको छ।

त्यस्तै, सुम्निखिम केन्द्रीय समितिसहित मातहतका नौवटा जिल्ला कार्यसमिति, हङकङ प्रवास शाखा समिति तथा १० वटा द्याल कार्यसमितिको प्रतिनिधिमूलक सहभागिता रहनेछ।

कार्यशाला सम्पन्न गर्न प्रवेश बायुङ राईको संयोजकत्वमा ११ सदस्यीय कार्यशाला व्यवस्थापन समिति गठन गरिएकाे छ। उक्त समितिमा सबै जिल्ला कार्यसमितिका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्