जनता समाजवादी पार्टी नेपाल निकट शेर्पाहरुको भेला यही साउन १४ गते हुने भएको छ ।
शेर्पालुङ राष्ट्रिय समन्वय समितिको आयोजनामा बृहत्त भेला हुन लागेको हो । जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा शेर्पा पार्टी प्यालेस जोरपाटीमा हुने भेलाले शेर्पालुङ राष्ट्रिय समन्वय समितिलाई पुनः गठन गर्ने कार्यक्रम रहेको जसपमा संघीय परिषद् सदस्य पासाङ शेर्पा छेल्हमुले जानकारी दिइन् ।
प्रदेश १ को नाम पहिचानको आधारमा शेर्पालुङ पनि जोड्नुपर्ने विषय उठिरहेको सन्दर्भमा भेलाले यस सम्बन्धमा पनि निर्णय गर्ने शेर्पाको भनाइ छ ।
भेला आयोजना गर्न दावा शेर्पाको संयोजकत्वमा समिति गठन गरी तयारी समेत पूरा भएको केन्द्रीय सदस्य लाक्पा शेर्पाले जानकारी दिए ।
जसपाको ११ वटा समितिमध्ये शेर्पालुङ राष्ट्रिय समिति एक हो ।
शेर्पाहरुको वसोवासको आधारमा भूगोललाई वागमती र प्रदेश नम्बर १ मा विभक्त गरेपछि समन्वय समिति गठन गर्नुपरेको केन्द्रीय सदस्य शेर्पाको भनाइ छ । दुवै प्रदेशमा राष्ट्रिय समितिहरु क्रियाशिल छन् ।
शेर्पा समुदायको सभ्यता, इतिहासका आधारमा शेर्पालुङ स्थापना हुनुपर्नेमा जोड दिँदै समितिलाई पूर्णता दिएर पहिचानका आधारमा प्रदेशको नामकरणका लागि दबाब सिर्जना गर्ने रणनीति रहेको बुझिएको छ ।
भेला आयोजनाका लागि चरणबद्ध छलफलहरु भएको र भेलाले दीर्घकालिन प्रभाव राख्ने खाले निर्णयहरु लिने जनाइएको छ ।
१४ गते हुने भेलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, सांसद लिला सिटौंला, ११ वटै राष्ट्रिय समितिका संयोजक, पार्टीका केन्द्रीय नेता, खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा लगायत सहभागि रहने प्रचार संयोजक नुरु शेर्पाले जानकारी दिए ।
