जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन घोषणा गरिसकेकोले अब संगठनलाई चुस्तदुरुस्त पारी अझ बढी क्रियाशील हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
हिजो जसपा नेपाल धरान उपमहानगर समितिको विस्तारित बैठकमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका अध्यक्ष राईले अब संगठन नभएको ठाउँमा बनाउनुपर्ने र भएकाहरुलाई चुस्तदुरुस्त बनाएर थप क्रियाशील हुनुपर्ने बताएका हुन् ।
अध्यक्ष राईले मंसिरको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन एकजुट भएरै चुनाव लड्ने सहमति भएको पनि बताए ।
सो क्रममा उनले पार्टीभित्रका केही व्यक्तिहरु पलायन भए पनि कुनै अन्याेलमा नपरी पार्टीको काममा निरन्तर क्रियाशील हुन आग्रह गरे ।
बैठकको सुरुमा उपमहानगर समितिको तर्फबाट अध्यक्ष राईलाई बधाई तथा शुभकामना दिइएको थियो ।
यसैगरी नेपाल मातृभूमि पार्टीबाट जसपामा एकीकृत भएका नेता भवानीप्रसाद दाहाललाई पनि पार्टीमा स्वागत गर्दै बधाई दिइएको थियो ।
कार्यक्रममा धरान उपमहानगर–१६ का अर्जुन राई जसपामा प्रवेश गरेका थिए ।
उनलाई संघीय परिषद् अध्यक्ष राई र बैठकको अध्यक्षता गरिरहेका नगर समिति अध्यक्ष ताजुब लिम्बूले खादा ओढाएर स्वागत गरेका थिए ।
जसपामा प्रवेश गरेपछि उनले पार्टीले दिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । उनले पहिले नेकपा एमालेमा काम गरेका थिए ।
बैठकको समापन गर्दै अध्यक्ष लिम्बूले निर्वाचन घोषणा भइसकेकोले अब अझ बढी ध्यान दिएर संगठन निर्माणमा लाग्नुपर्ने बताए ।
बैठकमा जसपा केन्द्रीय सदस्य जेन्टल लावती, दुर्गामाया लिम्बूलगायत नेताहरुको उपस्थिति थियो ।
बैठकको सञ्चालन नगर समितिका सचिव शम्भु राई ‘पृथक’ले गरेका थिए । उनले हिजोको बैठकले विभिन्न प्रस्तावहरुमा छलफल गरी निर्णय गर्न बाँकी रहेकोले फेरि पनि बस्ने जानकारी दिए ।