पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका कडा समर्थक मानिने कृषिविज्ञ मदन राईले भट्टराईकाे साथ छोडेको घोषणा गरेका छन् ।

उनले भट्टराईसँग सल्लाह गरेरै अलग बाटो लाग्ने निधो गरेको बताएका हुन् ।

जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेपछि कृषिविज्ञ राई पनि सोही पार्टीमा जाने अनुमान गरिएको थियो ।

तर, उनले बाबुरामसँग अलग भएको घोषणा गरेका छन् ।

आज उनले फेसबुकमा लेखेका छन्, ‘क्याडर पावरको राजनीति मलाई पिडापूर्ण थियो । सेवामुखी र परिवर्तनको राजनीति मैले छोड्न सकिनँ । कांग्रेसको क्याडर पावर राजनीति छोडेर परिवर्तन खोज्न १६ वर्ष स्वतन्त्र बसेँ । २०७२ मा डा. बाबुराम भट्टराईले परिवर्तनमै जाने भनेर सँगै हिड्यौ । ७ वर्षमा उनी पावर र मिसमासतिर तानिनुभो । मेरो विचारले मानेन । हामी सल्लाहले नै अलग बाटो लाग्ने निधो गर्यौ ।’

उनले अब क्याडर जनताबेस र पत्यक्ष लोकतन्त्रको पक्षमा लाग्ने पुस्तालाई ज्ञान र धन दिएर समर्पित हुने प्रतिबद्धता जनाएका छन् ।

केही दिनअघि मात्रै भट्टराईनिकट प्रशान्त सिंहले पनि भट्टराईसँग राजनीतिक सम्बन्ध बिच्छेदकाे घोषणा गरेका थिए ।

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आज १८८ सदस्यीय केन्द्रीय समिति बनाए पनि सो सूचीमा राम्रा नेता मानिएका डम्बर खतिवडा अटाएका छैनन् ।

उनी पनि भट्टराई पार्टी बनाउन सक्ने नेता नभएको निष्कर्षमा पुगको बताइन्छ । तर आजको बैठकमा उनी उपस्थित थिए ।