नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रमुख सचेतक विशाल भट्टराईले आगामी मंसिर ४ गतेको निर्वाचनमा अरु सबै दल एकातिर लाग्दा पनि ३९ वटा निर्वाचन क्षेत्रमा एमालेले जित्ने दाबी गरेका छन् ।
उनले प्रतिनिधिसभा सदस्यको १६५ वटा निर्वाचन क्षेत्रमध्ये ३९ वटामा जस्तोसुकै अवस्थामा पनि एमालेले जित्ने बताए ।
उनले गत वैशाख ३० गतेको स्थानीय निर्वाचनको परिणामका आधारमा गहिरो विश्लेषण गरेर तयार पारिएको प्रतिवेदनले ३९ वटा निर्वाचन क्षेत्रमा एमालेले जित्ने देखाएको उल्लेख गरे ।
नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चद्वारा आज काठमाडौंमा आयोजित निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा भट्टराईले सो दाबी गरेका हुन् ।
उनले भने, ‘मैले मेरा सचिवालयमा रहेका केही साथीहरुले स्थानीय तहको निर्वाचनको साह्रै गहिरो गरी वडाअध्यक्षको, अध्यक्ष, उपाध्यको विश्लेषण गरेर तथ्यांक निकालेर अध्यक्षलाई बुझाएका छांै । मसँग त्यो सुरक्षित छ, नेपालको अहिलेको प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्रमध्ये ३९ वटामा सबै पार्टी एकातिर लाग्दा पनि जस्तो बेलामा पनि एमालेले जित्छ भन्ने तथ्यांक छ ।’
उनले बाँकी ७० वटा निर्वाचन क्षेत्रमा एमालेसँग कडा प्रतिस्पर्धा हुने बताए ।
उनले भने, ’कडा प्रतिस्पर्धा भएका क्षेत्रहरुमा अलिकति बल गर्न सकियो भने हाम्रो उम्मेदवार राम्रा दिन सकियो भने पार्टीलाई एकढिक्का राख्न सकियो भने र मंसिरसम्ममा एउटा माहोल सिर्जना गर्न सकियो भने ७० मध्ये अधिकांशमा हामी चुनाव जित्छौ ।’
उनले एमालेले ५ सिट मात्रै जित्छ भन्नेहरुलाई निर्वाचनपछि नै जवाफ दिने बताए । एमालेसँग एक्लै लड्न नसकिने ठहरमा अन्य दलहरु पुगेको उनको भनाइ छ ।
सो क्रममा उनले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको लहर लागेको पनि बताए ।
