सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको गुनासो तत्काल सम्बोधन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन स्थानीय सरकारका जनप्रतिनिधिसँग आग्रह गरेका छन् ।

उनले भने, ‘‘मेरो विचारमा तपाईंहरुका मुख्य ३ वटा काम छन् । विकास निर्माण, सेवा प्रवाह र जनताको गुनासोलाई सम्बोधन गर्ने । यी कुरामा तपाईंहरुले ध्यान केन्द्रित गर्नुभयो भने पाँच वर्षपछि फेरि जनताले हाम्रै पार्टीलाई निर्वाचित गराउने छन् । त्यहाँका जनताको रोजाइमा तपाईंहरु नै पर्न सक्नुहुन्छ ।’’

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले बुधबार काठमाडौंमा स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तहमा करका दरहरु निर्धारण गर्दा सबैको सहमति लिन जरुरी रहेको पनि उल्लेख गरे ।

‘‘तपाईंहरु स्थानीय सरकार हो । प्रदेश सरकार, केन्द्र सरकार जनताको निम्ति टाढाको सरकार हो । तपाईंहरु जनताको सबैभन्दा नजिकको सरकार हो । त्यसैले तपाईंहरुलाई जुन विश्वासका साथ जनताले निर्वाचित गराएका छन् त्यो विश्वासका साथ तपाईंले काम गर्नु हुनेछ भन्ने हामी सबैले विश्वास लिएका छौं,’ उनले भने ।