पोखरामा एनएमबी बैंकको एटिएम फोडेर रकम चोर्ने युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले रूपन्देही बेलहिया (नेपाल-भारत सीमा नजिक) बाट भारततर्फ जाँदै गरेको अवस्थामा गत भदौ २ गते एक युवकलाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा पूर्वी नवलपरासी जिल्ला देवचुली नगरपालिका-५ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ३० डुँडाको मुख बस्ने २१ वर्षको अनिस तामाङ रहेका छन् ।
पोखरा महानगरपालिकाको लेखनाथको अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोडेर रकम चोरी गरेको १ महिनापछि लेखनाथ तामाङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।
गएको साउन २ गते राति पोखरा ३० मा रहेको एनएमबि बैंकको एटीएम मेशिन फोडेर १५ लाख रुपैयाँ रकम चोरेका थिए ।
उनले सोही राति एनआइसी एशिया बैंकको एटीएम मेशिन पनि फोड्ने प्रयास गरेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए । दुवै घटनामा एउटै व्यक्तिको हुलियार सो घटनामा ग१०प २९६३ नम्बरको मोटरसाईकल र हेल्मेटसमेत प्रयोग भएको देखिएको थियो ।
प्रहरीले तामाङको साथबाट पैसा राख्ने कालो बक्स १ थान, चोरी गर्न जानु पूर्व लगाएको सिल्भर रंगको हेल्मेट १ थान, पछाडी पट्टी EMBRACE लेखेको चोरी गर्दा लगाएको कालो सर्ट १ थान, कन्भर्स जुत्ता सेतो लेश भएको १ जोर, कालो ट्रयाक १ थान, I-PHONE XS MAX मोवाईल १ थान, Iteal मोबाईल १ थान मात्र बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको डिएसपी तिवारीले जानकारी दिए ।
