गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले नेपालमा संघीय शासन प्रणााली आएकोले नै मधेसी र जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सफल भएकाे बताएका छन् ।

हिजाे शान्तिटोल तमु आमा तथा बाबा समूह बेसीसहर-७ मा निर्मित भवनको उद्घाटन गर्दै गुरुङले साे कुरा बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘संघीय शासन नआएको भए मधेशी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै थिएन ।’

उनले संघीयताकै कारण गाउँगाउँसम्म ठूलो बजेट विनियोजन गर्न सकिएको पनि बताए ।

साे क्रममा उनले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने घाेषणा गरे । उनले आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पार्टी भन्दा पनि विकासप्रेमी नेतालाई जिताउन आग्रह गरे ।