नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमै उत्पादित सामग्री सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन् ।
हिजाे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले साे कुरा बताएका हुन् ।
थापाले सरकारी कार्यालयमा प्रयोग हुने ७० देखि ८० प्रतिशत वस्तुहरु नेपाली उत्पादन हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताए ।
विगतमा नेपाली उत्पादनका वस्तुमा १० देखि १५ प्रतिशत बढी शुल्क तिरेर प्रयोग गर्ने नीतिले काम नगरेको उनकाे भनाइ छ ।
सरकारी कार्यालयमा अनिवार्य रुपमा नेपालमा उत्पादित सामानको प्रयोग गर्नुपर्ने व्यवस्था गर्नुपर्ने उनले बताए ।
उनले सरकारी कार्यालयहरुमा एक वर्षमा प्रयोग हुने सम्पूर्ण सामानको ७० देखि ८० प्रतिशत नेपाली वस्तु प्रयोग गर्नसके नेपाली उत्पादन उद्योग फस्टाउने दाबी गरे ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले प्रयोग गर्ने जुत्ता, सरकारी कार्यालयमा प्रयोग गर्ने फर्निचर नेपालकै प्रयोग गर्न उनले आग्रह गरे ।
