जसपाकाे पहिलेकाे झन्डा ।

जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधिसभाको दुबै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमका विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम समेत जारी गरी मधेश प्रदेश समितिले आठ वटै जिल्ला समितिहरुमा परिपत्र जारी गरेको छ ।

जसअन्तरगत असोज ८ गते जिल्लाहरुमा नागरिक समाज, वुद्धिजीवि, पत्रकार, शिक्षक, प्राध्यापक, व्यापारी र कानुन व्यवसायी पेसाकर्मी तथा अन्य सरोकारवालाहरु सँग अन्तरक्रिया गर्ने,

असोज ११ गते जिल्ला सदरमुकामहरुमा भ्रातृसंगठनहरु द्वारा विरोध प्रदर्शन गर्ने र राष्ट्रपतिको पुत्ला दहन गर्ने,

असोज १३ गते जिल्लाहरुमा जिल्ला सदस्यहरु, प्रदेश समिति तथा परिषद् सदस्यहरु, केन्द्रीय नेताहरु, संघीय सांसद, प्रदेश सभा सदस्यहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थितिमा विधेयक तथा अध्यादेशको बारेमा जानकारी गराउने र

असोज १५, १६ र १७ गते सबै पालिका तथा वडास्तरीय भेला गरी राष्ट्रपतिले चालेको कदम तथा विधेयकको बारेमा जानकारी गराउने कार्यक्रम तय गरेको छ ।

संविधानमा त्रुटिहरु रहेको र राष्ट्रपतिको पछिल्लो कदमबाट जसपाले उठाउँदै आएको संविधान संशोधनको विषयलाई थप पुष्टि गरेको पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए ।