अशोक राईको उम्मेदवारी सुनसरी-१ बाट, भन्छन्- एमालेसँगको सहकार्य चुनावपछि पनि

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

उनले नेकपा एमाले र जसपाबीच तालमेल गर्ने सहमति भए अनुसार प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।प्रदेशसभा निर्वाचनको दुवै क्षेत्रमा एमालेले उम्मेदवारी दिएको छ ।

‘क’मा रमेशकुमार बस्नेत र ‘ख’मा विजयकुमार राईले उम्मेदवारी दिएका छन् । बस्नेत र राई दुवै जना एमाले प्रदेश १ कमिटिका सचिवालय सदस्य हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा एमाले र जसपाबीच १४ जिल्लामा तालमेल गर्ने र बाँकी ६३ जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको हो ।

नेता राईलाई नेपाली कांग्रेस नेतृत्वको गठबन्धन पनि सुनसरी क्षेत्र नं १ मा साझा उम्मेदवार बनाउन तयार थिए ।
तर, उक्त गठबन्धनले जसपालाई देशभरि १४ सिटमात्रै दिने र अन्य जिल्लामा उम्मेदवार उठाउन नपाउने सहमति गराउन खोजेपछि जसपा एमालेसँगको तालमेलमा पुगेको हो ।

एमाले जसपाका साझा उम्मेदवार बनेका नेता राईले अब नयाँ संघर्षको थालनी भएको बताए । उनले एमालेसँगको सहयात्रा चुनावपछि पनि जारी रहने बताए ।

उनले भने, ‘यो सहयात्रा चुनावसम्म मात्रै होइन, चुनावपछि पनि जारी रहनुपर्छ ।’

उनले हिजो जुन ढंगले यात्रा गरियो अब त्यसमा पश्चाताप गरेर समय खेर फाल्न नहुने बताए ।

‘विगतमा जे जस्तो ढंगले प्रयत्नहरु गरियो, जे जस्तो ढंगका यात्राहरु गरियो ती इतिहासका विषय भइसकेका छन्,’ उनले भने, ‘तिनमाथि पश्चाताप गरेर वा रमाएर हामीले समय बर्बाद गर्नुछैन, हामी विगतमुखी होइन, भविश्यमुखी भएर अगाडि बढ्नुपर्छ ।’

चुनावका लागि सम्पूर्ण शक्तिका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले एमालेसँगको तालमेलले पुराना साथीहरुसँग भेट्न पाएकोमा आफू हर्षित भएको पनि बताए ।

दुवै दलका नेता कार्यकर्ताहरुका बिचमा उनले आफूहरुको जित सुनिश्चित भएको बताए ।

आइतबार दुवै पार्टीले आआफ्ना उम्मेदवार तथा नेता कार्यकर्ताहरुका साथमा धरानको सभागृहमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्