आगामी मंसिर ४ गते हुने निर्वाचनमा सुनसरी क्षेत्र नं १ का नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवार अशोककुमार राईलाई धरानका नेवार समुदायले साथ दिने भएका छन् ।
शनिबार बेलुकी धरानको होटल रत्नइनमा नेवार समुदायका उद्योगी व्यापारी तथा प्रतिष्ठित व्यक्तिहरुले नेता राईसँग भेटघाट गरेका छन् ।

सो क्रममा नेवार एकता समाजका अध्यक्ष राजेशमान श्रेष्ठले नेवार समुदायको समस्याका विषयमा बोल्ने नेतालाई जिताउने बताए ।
उनले नेवारहरु जहिले पनि अरुबाटै प्रयोग मात्रै हुँदै आएको गुनासो गरे । नेवार एकता समाज धरानका नेवारहरुको शक्तिशाली सामाजिक संस्था हो ।

धरानको २० वटै वडामा संगठन रहेको नेवार एकता समाजले समुदायको हक अधिकारका लागि काम गर्दै आएको छ ।
भेलामा नेवार समुदायका प्रतिष्ठित उद्योगी व्यापारी र विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सो क्रममा एमाले–जसपाका साझा उम्मेदार राईले नेवार समुदाययको खानाका परिकार तथा सो सम्बन्धी परम्परागत ज्ञान र सीपलाई व्यापारीकरण गर्नुपर्ने बताए ।

सो क्रममा उनले नेपाल निर्माणमा नेवार समुदायको ऐतिहासिक महत्व भएको बताए ।
भेलामा जसपा केन्द्रीय कार्यकारी सदस्य तथा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सुशीला श्रेष्ठले स्वागत मन्तव्य राख्दै न्याय, समानता र अधिकार प्राप्तिको लागि सधै एकताबद्ध हुनुपर्ने बताइन् ।

