धरान । धरान उपमहानगरपालिका–१७ रेल्वेमा निर्माण गरिएको ‘सुनौलो सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र’को उद्घाटन गरिएको छ ।
शनिबार प्रदेश नं १ का निवर्तमान सभामुख प्रदीपकुमार भण्डारी र नेपालका लागि जापानिज राजदूत किकुता युकाताले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
पुस्तकालयका संस्थापक अध्यक्ष रमेशचक्र खड्काकाअनुसार जापान सरकारको सहयोग र रिड नेपाल नामक संस्थाको सहकार्यमा पुस्तकालय निर्माण गरिएको हो ।
दुई करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त पुस्तकालयलाई प्रदेश १ कै आधुनिक पुस्तकालयको रुपमा लिइएको छ ।
पुस्तकालयभित्र महिला, बालबालिका, युवा लगायत अलग अलग कक्षहरु छन् ।
पुस्तकालयभित्रै बालबालिकाका लागि श्रव्यदृश्य सामग्रीका साथै कम्युटर सिक्न चाहनेहरुका लागि पनि सुविधा छ ।
अध्यक्ष खड्काकाअनुसार पुस्तकालयभित्रै आवास र हलको पनि सुविधा छ ।
सुनौलो पुस्तकालयलाई नै विस्तार गरी सुनौलो सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको रुपमा विकास गरिएको हो ।