काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नाे पार्टी तत्काल कसैसँग एकता गर्ने स्थितिमा नरहेको उल्लेख गरेका छन् ।
गत पुस १६ गते पार्टीको स्थायी कमिटीको बैठकमा नेता खनालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नाे पार्टी तत्काल कसैसित एकता गरिहाल्ने स्थितिमा नभएको उल्लेख गरे ।
‘यतिबेला हाम्रो पार्टीका बारेमा कहिले यो पार्टीसँग विलय हुने कहिले त्यो पार्टीसँग विलय हुने हल्लाहरु चलिरहेका छन् । सार्वजनिक मिडिया र छापा मिडियामा पनि यस्ता अनेक हल्लाहरु चलिरहेका छन्,’ उनले भनेका छन्, ‘यसबारे के कुरा प्रष्ट हुन जरुरी छ भने हाम्रो पार्टी यतिबेला कसैसँग विलय हुने पक्षमा पनि छैन, कसैसित पार्टी एकता गरिहाल्ने स्थितिमा पनि छैन । हामीले सबै पार्टीहरुको हैसियत राम्ररी देखिरहेका छौ र अध्ययन गरिरहेका छौं ।’
तर उनले नेपालको कम्युनिष्ट आन्दोलनको एकता तथा नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने आजको युगको आवश्यकता भएको उल्लेख गरे ।
उनले नीति, सिद्धान्त र विधिको माध्यमबाट मात्रै पार्टी एकता हुने प्रष्ट पारेका छन् । सो क्रममा उनले अहिलेको सरकार खिचडी सरकार भएको पनि उल्लेख गरेका छन् ।
राजतन्त्रवादीहरु, मधेसलाई देश बनाउन चाहनेहरु, संघीयता खारेज हुनुपर्छ भन्नेहरु, जबजको लक्ष्य लिनेहरु, समाजवादको लक्ष्य लिनेहरु सबै यही सरकारभित्र रहेको उनको भनाइ छ ।