माेरङ । प्रदेश १ का प्रमुख परशुराम खापुङले जनताको स्वास्थ्य सेवा सरकारी अस्पतालले मात्र गर्न नभ्याउने हुँदा निजी अस्पतालहरु सञ्चालनमा आएको बताएका छन् ।

मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालको नवौं साधारणसभाको उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘राज्यले नै शिक्षा र स्वास्थ्यलाई मौलिकको हकको रुपमा राखेको छ । शिक्षा र स्वास्थ्यमा अगाडि बढ्न सकेनौँ भने मुलुक अगाडि बढ्न सक्दैन ।’

नवौं साधारणसभाको अवसर पारेर राधिका माविमा १२ कक्षामा अध्ययनरत सुनिता चेपाङ, ११ मा अध्ययनरत सुमित्रा किस्कु, जालमा मावि पथरीमा कक्षा १० मा अध्ययनरत अर्जन मगरलाई जनही १० हजारको दरले छात्रवृत्ति प्रदान गरिएकाे थियाे ।

त्यसैगरी कवि मञ्जुल मितेरी, नमूना बालगृहकी सञ्चालिका मिना बराल, पत्रकारहरु सरोज बस्नेत, जगन्नाथ भट्टराई, राजघाट स्वास्थ्यचौकी इन्चार्ज सन्दिप नेयोङ, पूर्वमेयर खड्ग फागोलाई प्रदेश प्रमुखबाट सम्मान गरिएकाे थियाे ।

अस्पतालका सञ्चालक आइन्बा पोमुले ७८ जनाको सक्रियतामा शुरु गरिएको अस्पतालमा देशविदेशमा रहेका युवाहरुको लगानी रहेको बताउनुभएको थियो ।

कार्यक्रममा दलहरुको तर्फबाट निरुपा निरौला, पूर्वमेयर खड्ग फागो, मेयर गंगा खरेल, प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले मन्तव्य राखेका थिए ।