खोटाङ । कृषकहरुलाई आधुनिक खेतीप्रणालीतर्फ आकर्षित गर्नका लागि खोटाङमा ५० प्रतिशन अनुदानमा विभिन्न कृषि सहकारी, कृषि फर्म र कृषक समूहहरुलाई हाते ट्रयाक्टरसहितका आधुनिक कृषि सामग्री वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषकहरुलाई ११ थान हाते ट्रयाक्टर, तीन थान कम्बाइन मिल, एक थान कर्नशेलर मेशिन (मकै छोडाउने), एक थान मल्टीक्रप थ्रेसर (धान, गहुँ झाट्ने मेशिन), दुई थान कोटो कुट्ने थ्रेसर र
दुई थान च्याफ कटर (घाँस काट्ने मेशिन) वितरण गरिएको हो ।
बुधबार दिक्तेलमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईमार्फत उक्त कृषि सामग्री वितरण गरिएकाे हाे ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङले चालू आर्थिक विनियोजन गरिएको २५ लाख रुपैयाँमा कृषकहरुको १३ लाख २४ हजार समेत थप गरी खरिद गरिएको कृषि सामग्री वितरण गरिएको हो ।
कृषि सामग्री वितरणपछि जिल्ला समन्वय समितिका प्रमुख राईले अबकाे समयमा निर्वाहमुखी खेतीप्रणालीबाट आधुनिक र व्यवसायिक खेतीप्रणालीको विकास गर्न सकिएन भने खेतबारीहरु बाँझो हुँदै जाने र त्यसले देशकाे अर्थतन्त्रमा ठूलो संकट आउने बताए ।