प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले लोकतान्त्रिक आदिवासी जनजाति महासंघलाई आफ्ना प्रचार सामग्रीमा ‘कोशी प्रदेश’ नलेख्न आग्रह गरेको छ ।
महासंघले कोशी प्रदेश लेखिएको प्रचार सामग्री प्रचार गरिरहेकाे भेटिएपछि समितिले मंगलबार एक विज्ञप्ति जारी गरी उक्त शब्द हटाउन माग गरेको हो ।
महासंघ नेकपा एमाले समर्थक आदिवासी जनजातिहरुको संगठन हो । जसले आगामी असोज १० गते मोरङको सुन्दरहरैचामा प्रथम प्रदेश अधिवेशन गर्ने तयारी गरिरहेकाे छ ।
महासंघका राष्ट्रिय अध्यक्ष भने पासाङ शेर्पा हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको बृहत् नेपाली शब्दकोशमा ‘कोशी’को अर्थ कौशिकी ऋषि भन्ने छ । कौशिकी भन्ने व्यक्ति भारतको उत्तर प्रदेशका ऋषि थिए । उनको नामबाट गोत्र बनेको हो ।
एउटा गोत्र (बाजे)को नामले आम प्रदेशवासीको भावना समेट्न नसक्ने भएकोले पनि कोशी प्रदेश नाम खारेज हुनुपर्ने समितिको तर्क छ ।
समितिले गत भदौ २३ गते सुनसरीको धरानमा भएको एमालेको युवा संघको कार्यक्रममा नेता महेश बस्नेतले साम्प्रदायिक हिंसा बढाउने गरी आदिवासी जनजातिहरुलाई गालीगलौज गरेको भन्दै आफ्नाे अभिव्यक्ति फिर्ता लिन बस्नेतलाई चेतावनी पनि दिएको छ ।
समितिले आगामी असोज २ गते विराटनगरमा मोटरसाइकल र्याली गरिने भएकोले झन्डासहित र्यालीमा सहभागी हुन पहिचान पक्षधर सबैलाई अपिल पनि गरेको छ ।
यसैगरी, कोशी प्रदेश नामांकनमा हस्ताक्षर गर्ने ८२ जना सांसदहरुलाई कुनै पनि सार्वजनिक कार्यक्रममा नबोलाउन र झुटा मुद्दा लगाएर थुनामा राखिएकाहरुलाई विनासर्त रिहा गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।