शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘स्वदेश खतम विदेश उत्तम’ भन्ने मनोविज्ञान समाजमा हाबी हुँदै गएको बताएका छन् । युवा र विद्यार्थीमा समेत हाबी हुँदै गएको यही मनोविज्ञान शिक्षा क्षेत्रको समस्याका रूपमा देखापरेको उनको भनाइ छ ।
‘शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल’को २०औं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका मन्त्री राईले युवापुस्ता तथा विद्यार्थीलाई मुलुकको विश्वविद्यालयप्रति विश्वास जगाउन नसकिरहेको बताए ।
‘हामीले आमरूपमै युवापुस्तामा विश्वास जगाउन सकेका छैनौं । एक कक्षामा भर्ना भएको विद्यार्थी सबै १२ कक्षासम्म पढ्न नपुग्ने, जसले १२ कक्षा पढ्छ, तिनीहरूमध्ये पनि अधिकांश छानिएर टोफेल, स्याट, आईईएलटीएस उतीर्ण भएका विदेश पलायन हुन्छन् । उनीहरूमा हामीले हाम्रा विश्वविद्यालयप्रति विश्वास जगाउन सकेनौं, हाम्रो शिक्षा प्रणालीप्रति विश्वास जगाउन सकेनौं,’ उनले भने, ‘स्वदेश खतम विदेश उत्तम भन्ने मनोविज्ञान समाजमा विस्तारै हाबी हुँदै गइराखेको छ । युवा र विद्यार्थीहरूमा पनि यो भावना छाउँदै गइराखेको छ ।’
मन्त्री राईले थपे, ‘विदेशमा जे काम गरेर वा जति दुःख गरेर भए पनि पढ्न तयार हुने तर स्वदेशमा विश्वविद्यालयले काम गर तिमीलाई पकेट मनी विदेशको विश्वविद्यालयले जस्तै गरी उपलब्ध गराउँछौं, स्कलरसिप पनि दिन्छौं भन्दा स्वदेशमा बसेर काम गर्न तयार नहुने विद्यार्थीको गलत मनोविज्ञान रहेको छ ।’
उनले पोखरा विश्वविद्यालयले विद्यार्थीलाई ‘जब एन्ड एजुकेसन’का लागि ७० लाख बजेट छुट्याए पनि कुनै पनि विद्यार्थी त्यही काम गर्दै पढ्न तयार नभएको तितो अनुभव पनि सुनाए । सो क्रममा उनले विद्यार्थीलाई ‘कसरी कामप्रति मोह जगाउने ?’ भन्दै प्रश्नसमेत गरे ।
उनको प्रश्न छ, ‘अब हामीले हाम्रा विद्यार्थीलाई कामप्रति मोह कसरी जगाउने ? काम सानो हुँदैन, काम गर्नुपर्छ भन्ने कुरा कसरी सिकाउने ?’
हलो जोत्ने कोदालो खन्नेलाई सानो मान्छेका रूपमा हेर्ने सामाजिक धारणा अब फेर्नुपर्ने उनको भनाइ छ । शिक्षाको परिभाषा रोकेर राख्न नसकिने जिकिर गर्दै उनले भने, ‘पहिले हलो जोत्नु शिक्षा हुँदैनथ्यो, आरनमा बसेर घन ठोक्नु शिक्षा हुँदैनथ्यो, कुनै समय चोयाको डोका बुन्नु, डालो बुन्नु शिक्षा हुँदैनथ्यो । अहिले त त्यो सबै शिक्षा हो ।’
मन्त्री राईले शिक्षा क्षेत्रमा लगानी बढाउन नसक्नु नै पहिलो मुख्य समस्या रहेको र लगानीको तुलनामा उपलब्धि हासिल गर्न नसक्नु दोस्रो समस्या रहेको औंल्याए ।
शिक्षामा कूल बजेटको २० देखि ३० प्रतिशत लगाउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता भए पनि नेपालले चालू आर्थिक वर्ष ११ दशमलव २ प्रतिशत मात्रै लगानी गरेको उनले बताए ।