खोटाङमा मंगोल नेसनल अर्गनाइजेसनका कार्यकर्ताहरुले सोमबार सांस्कृतिक क्रान्ति भन्दै गोरु काटेर सामूहिक भोजन गरेका थिए ।
तर, उनीहरुमध्ये चार जनालाई मंगलबार प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ ।
प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पाका २१ वर्षीय डिकमान तामाङ, ४० वर्षीय तेजबहादुर तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टिकाराज बरालकाअनुसार प्रहरी चौकी जाल्पाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
राज्यले गोरु काटेर खाएको अभियोगमा विभिन्न मानिसहरुलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।
तर, आदिवासी जनजाति समुदायका अगुवाहरुले भने गोरुको मासु खाने आदिवासीहरुको संस्कृति नै रहेको भन्दै राज्यको शैलीको विरोध गर्दै आएका छन् ।
उनीहरुले आदिवासीहरुमाथि विभेदजन्य कानुन निर्माण गरिएको भन्दै त्यस्ता कानुनहरु संशोधन हुनुपर्ने माग गर्दै आएका छन् ।
गोरु खाटेर सामूहिक भोजन गर्ने कार्य पछिल्ला केही दिनमा मंगोलका कार्यकर्ताहरुले तीव्र पारेका थिए ।
उनीहरुले झापा, मोरङलगायत जिल्लाहरुमा यसअघि नै सामूहिक रुपमा गोरुको मासु खाएका थिए ।
तर, त्यसभन्दा पनि अघि धरानकाे मंगलबारेमा पनि विभेदजन्य कानुनको विरोधमा गोरु काटेर सामूहिक भोजन गरिएको थियो ।
उक्त कार्यक्रम भने मंगोलका कार्यकर्ताहरुको थिएन ।