एउटा अन्तर्राष्ट्रिय स्तरकाे छाप छाेड्ने सिनेमा ‘घरज्वाइँ’

फिल्मकाे डाइलगका कारण विवादमा पनि परेकाे चलचित्र घरज्वाइँबारे आदिवासी जनजाति समुदायका अगुवा तथा त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक बालकृष्ण माबुहाङले एउटा अन्तर्राष्ट्रिय स्तरकाे छाप छाेड्न सक्ने सिनेमा भन्दै रिभ्यु गरेका छन् ।

माबुहाङले फिल्मबारे सामाजिक सञ्जालमा राखेकाे रिभ्यु हामीले जस्ताकाे तस्तै साभार गरेका छाैं ।

रुकुम तकसेरा गाउँ पुगेको छैन । सन् १९९३ मा रोल्पाको उत्तरी गाउँहरू डुलेको छु । तिनैको निरन्तरता होला भन्ने अनुमान हो । सिनेमा हेर्दा हो रैछ । सन् १९९३ बाट आज ३० वर्षपछि पनि रुकुम रोल्पाका ती भित्री गाउँहरू उस्तै रहेछन् भन्ने आभास सिनेमाले दियो । उस्तै हुनुले दुइ कुराहरू व्यक्त गर्छ ।

पहिलो, राम्रो पक्ष ! हजारौँ वर्ष पुरानो सभ्यताको निरन्तरताको संरक्षण वा संरक्षित रुप पाउनु । दोस्रो, नराम्रोमा । मान्छेको दैनिकीमा अभाव-शिक्षा, स्वास्थ्य, विकासको समस्या । दुनियाँबाट विच्छेद् ।

आजको दिनमा हलिवुड, बलिवुडले हराइसकेका समाजको कथा र वस्तु निर्माण गरेर कृतिम सिनेमा बनाउँछन्, अरबौँ खर्च गरेर । तर निर्देशक अनिल बुढा, युवा सिने मेकरले तकसेराको वर्तमान अवस्थाको छायाङ्कन यसरी बनाएका रहेछन् कि हलिवुड, बलिवुडले बनाउने सिनेमाको स्वाद चखाउने गरि । बिन्जुरी (मिरुना मगर) को बुवाको भूमिकामा खेल्ने कलाकार, वाङ्देल अन्तर्राष्ट्रिय स्तरकै कलाकार रैछन् ।

बालकृष्ण माबुहाङ

कथा सरर बगेको छ । इन्टरभलपछि भने दर्शकको अपेक्षानुरुप नबगेको हो कि! भन्ने भयो ।

दुइटा कमेन्ट ! चलचित्रको नायक-नायिका जुन भूमिकामा छन्, त्यो एक्टिभ छैन । हिरो, हिरोनी जस्ता लाग्दैनन् । त्यसले दर्शकलाई नमज्जा त बनाउँछ नै, त्यसले दया र मिरुनाको जुन क्रेज छ, त्यो मार्छ । जारी, मनसरा, गाउँ आएको बाटो, घरज्वाइँ सबै सिनेमामा मैले त्यो देखेँ । एक्टिभ “हिरो,”को भूमिका दिन पर्छ ।

दोस्रो, सिनेमा समाजमा भएका कथा र घटनाले मात्र हुन्न । कथामा निर्देशक, लेखक, इभन खेल्ने कलाकारमा पनि परिकल्पनाशीलता चाहिन्छ । नेपाली समाज पितृसत्तात्मक मूल्य मान्यताले जकडेको सवैले स्विकारेको कुरा हो ।

पितृसत्तात्मक मुल्य विरुद्ध सिनेमाले एक कदम हिँड्न सक्न पर्छ। उदाहरणको रुपमा माथि मैले नाम लिएका सिनेमाहरूमा सबैमा मिरुना सबमिसिभ भूमिकामा छिन् ।

घरज्वाइँमा नै हेरौँ । घरज्वाइँ बस्ने, नबस्ने; राख्ने नराख्ने जुन समस्या छ, त्यो सबै समस्या हल गर्ने जिम्मा विन्जुरीलाई दिँदा हुन्न ? किनकि सोरो, उसको परिवार, विन्जुको बुवा सबै विन्जुमानै थुरिन्छन् ।

तर निर्णय उनीमा नभै अन्तै छ । जस्तो बँदेल कस्ले ढाल्ने जुन प्रश्न छ, हिरोनी विन्जुरी आफै बन्दुक चलाउन, मार हान्न क्षेमतावान छिन् । आफ्नो प्रेमीको पक्षमा परिणाम निकाल्न बिन्जुरीले बँदेल लडाएको भए, सिनेमाको इन्डिङ अर्कै हुन्थ्यो। तर अनपेक्षित भिलेनको भूमिकाको बुवाले बँदेल लडाउँदा अनपेक्षित (अनएथिकल पनि) बन्यो ।

मैले हेर्दा जुन स्वाद मैले गर्न पाएँ, तपाईंले हेर्नुभयो भने तपाईंले पनि आफ्नै स्वाद पाउनु हुन्छ । फरक किसिमले पनि पाउनु हुन्छ । मित्र जग ब. बुढासित कुरा हुँदा आको: “२/३०० को टिकटमा क्युएफएक्सले कति लिन्छ? ३०/४० प्रतिशत?” मैले भने “पुस्तक प्रकाशन जस्तै त होला ! किताब लेख्नेले त १०% जति पाए जस्तै!” मेरो मतलब सिनेमा बनाउनु भनेर मात्र हुन्न । अर्थको चाँजो महंगो छ। यदि तपाईं हामी सबैले हेर्यौं भने सिनेमा बाँच्छ, हुर्कन्छ, र अर्को राम्रो सिनेमा बन्छ । कृपया सबैले एक पटक हेर्नुहोला अन्तर्राष्ट्रिय स्तरको स्वाद पाउने सिनेमा घरज्वाइँ ।

अन्तमा: यानीमायाको संगीतको जुन पृष्ठपोषण भएको छ, त्यो संसारको जति पनि फिल्म मेकरहरूको लागि अतुलनीय र मगर फिल्म मेकिङ्को विशिष्ट पहिचान स्थापित गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्