आदिवासीजन्य संस्थाकाे नेतृत्वहरुको नेतृत्वमा हाल कोशी प्रदेश नाम खारेजीको आन्दोलन फेरि उठाउन खोजिएको छ ।
हिजो मंसिर २ गते कोशी नामविरुद्ध विराटनगरमा प्रदर्शनसहित नयाँ आन्दोलनको घोषणा पनि गरियो ।
यस सम्बन्धमा धरानका मेयर हर्क साम्पाङले पहिचानको आन्दोलनमा लागेका संस्थाको नेतृत्वहरुले पार्टी परित्याग गर्नुपर्ने अन्यथा आन्दोलनको तुक नरहने टिप्पणी गरेका छन् ।
उनले पार्टीको कार्यकर्ता रहँदासम्म त्यस्ताहरुले नेतृत्व गरेको आन्दोलनको तुक नरहने बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जातीय संघ–संस्थामा नेतृत्व गर्नेहरु सबैले पार्टी परित्याग गरी सांस्कृतिक उन्नयनमा लाग्नुपर्दछ । अन्यथा उठाइएका मुद्दाको कुनै तुक रहने छैन । तुहिएर जान्छ नै किनकि, हाइकमाण्डको आदेश अवज्ञा गर्न सक्दैन त्यस्तो नेतृत्वले ।’
हुन पनि अचम्मको कुरा के छ भने सडकमा पहिचानसहितको संघीयताको आन्दोलनको नेतृत्व गर्नेहरु अधिकांश कांग्रेस, एमाले र माओवादी समर्थक छन् ।
प्रदेश १ लाई कोशी प्रदेश नाम राख्नेहरु पनि तिनै दलका नेता तथा सांसदहरु हुन् ।
बारम्बार त्यही दलका कार्यकर्ताहरु सडकमा निस्किएर पहिचानको आन्दोलनमा हिँडेको र कडा भाषण गरेको देख्दा अचम्म लाग्छ नै ।
पहिचानको विपक्षमा रहेको पार्टी पनि नछोड्ने तर पहिचान पनि भनिरहने खालको दोहोरो चरित्रले पहिचानको आन्दोलन प्रभावकारी हुन सकेको छैन ।
यो आन्दोलन निकै लामो जाने अवस्था छ र असफल पनि हुन सक्छ ।
किनभने जजसले पहिचान भनेर सडकमा निस्किरहेका छन्, उनीहरुको दोहोरो चरित्र छ, स्वार्थ छ ।
पहिचानसहितको प्रदेश निर्माणको स्वार्थ राजनीतिक हो, तर तिनै व्यक्तिहरुको निजी स्वार्थ यथावत छ । यो निकै दिक्दारी कुरा हो ।