विराटनगर– कोशी प्रदेश सरकारले गत आर्थिक वर्ष (२०८१/८२) मा ११३.८९ किलोमिटर सडक कालोपत्रे गरेको छ।
शुक्रबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलनमार्फत गत आर्थिक वर्षको प्रगति सार्वजनिक गरेका हुन्।
उनका अनुसार सो अवधिमा ११३.८९ किलोमिटर सडक कालोपत्रे, १७५.४९ किलोमिटर सडक ग्राबेल, १७८.७६ किलोमिटर कच्ची सडक निर्माण, तथा ४७.९६ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको छ।
यस्तै, एक वर्षको अवधिमा १८ वटा सडक पुल र १६ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्।

गत वर्ष प्रदेश सरकारको स्रोतबाट २८४ विपन्न नागरिकका लागि घर निर्माण गरिएको छ भने संघीय ससर्त अनुदानबाट २५४ घर निर्माण सम्पन्न भएको छ।
प्रदेशमा १३ वटा सरकारी भवन, ६९ वटा सामुदायिक भवन, ११ वटा सभाहल, ४० वटा विद्यालय पूर्वाधार, २५ वटा धार्मिक पूर्वाधार, ११ वटा कभर्ड हल र १० वटा खेल मैदान निर्माण गरिएको मन्त्री राईले जानकारी दिए।
६७ प्रतिशत बेरुजु फछ्र्योट
उनका अनुसार गत वर्ष ५ अर्ब ९५ करोड ४९ लाख ५८ हजार रुपैयाँ बेरुजुमध्ये ४ अर्ब १ करोड ४४ लाख ३३ हजार रुपैयाँ बेरुजु फछ्र्योट गरिएको छ।
यो कुल बेरुजुको ६७.४१ प्रतिशत हो।

“जिम्मेवारी पाउनासाथ मैले बेरुजु फछ्र्योटमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएको थिएँ। मन्त्रालय तथा मातहतका कार्यालयहरूमा बेरुजु फछ्र्योट अभियान सञ्चालन गरेपछि उल्लेखनीय प्रगति भएको छ,” मन्त्री राईले भने।



