हामी हरेक मानिस प्रकृतिमा जन्मिन्छौं, प्रकृतिमै हुर्कन्छौं र ढिलोचाँडो प्रकृतिमै विलीन हुन्छौं।
त्यसैले सीमित व्यक्तिगत वा सामूहिक आर्थिक–भौतिक फाइदाका लागि प्रकृति (जस्तै: वनजंगल, खोलानाला, समुद्र, जमिन, खनिज आदि) का स्रोतसाधनको अनावश्यक दुरुपयोग (दोहन) नगरौं।
विकासको नाममा बिना अध्ययन–अनुसन्धान पहाडमा जथाभावी डोजर चलाउने, राजस्व उठाउने नाममा खोलानालाको दोहन गर्ने, नदी–समुद्रमा फोहोर फाल्ने, हाइड्रोको नाममा जथाभावी खोलानदी थुन्ने, खोलानाला मिच्ने, वन समिति तथा विभिन्न सरकारी–गैरसरकारी निकाय र कार्यक्रमका नाममा वन मास्ने, योजनाविहीन रूपमा बस्ती बसाउने, सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने, अनियन्त्रित खानी उत्खनन गर्ने, वातावरणीय मापदण्ड विपरीत अन्धाधुन्ध उद्योगधन्दा सञ्चालन गर्ने कार्यहरूबाट प्रकृति निरन्तर प्रतिकूल बन्दै गएको छ।
यी कुकर्मका परिणामस्वरूप प्रकृतिले पनि कहिलेकाहीं प्रतिशोध लिन्छ।
मौसम बेमौसममा बाढीपहिरो आउनु, भूकम्पमा अत्यधिक क्षति हुनु, खडेरी पर्नु, पानीको हाहाकार हुनु, हावा र वातावरण प्रदूषित हुनुजस्ता घटनाहरू यहीका उदाहरण हुन्।

यस्तो क्रम बढ्दै गए मानवका कुकर्मकै कारण भोलिका दिनमा मानव अस्तित्व नै संकटमा पर्न सक्छ।
त्यो बेला पश्चाताप गरेर पनि सच्याउने समय नहुन सक्छ।
त्यसैले ढिलो भए पनि अब हामी मानव जातिले प्रकृतिलाई नकारात्मक असर नपार्ने गरी, आवश्यक वातावरणीय मापदण्डका दायराभित्र रहेर मात्र प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्नुपर्छ। किनभने, “प्रकृति बिना मानव अस्तित्व असम्भव छ; तर मानवबिना पनि प्रकृति अनन्त रहन्छ।”
