जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ।

शनिबार कपिलवस्तुमा बसेको पुनर्गठन भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो।

नवगठित समितिमा नेत्रबहादुर थापा, मोहम्मद अस्लम अन्सारी र लालिमा मल्ल उपाध्यक्ष चयन भएका छन्।

त्यस्तै विवेकचन्द्र मिश्र मुख्य सचिव बनेका छन् भने सुनिल पाठक र सुमित्रा नेपाली सचिवमा चयन भएका छन्।

कोषाध्यक्षमा मोहम्मद जुनेद कादरी छन्।

प्रदेश सदस्यहरूमा राजिव बर्मा, तरन्नम बानु ढपाली, साबित्री गिरी, वाहिद हलुवाई, जकी खान, सगीर खान, अमोद तिवारी, अनिल जयसवाल, नदीम इदरिसी, नसिम पठान, मोसिम कमल, मोहम्मद अनिकुर रहमान, शिरबहादुर बुढा, बिनकुमार बुढा, रमजान अली, दीपक गुप्ता, कृष्ण गुप्ता, इरफान अली, राकेश कुर्मी, महनाज खान, इन्द्रबहादुर गेलाङ, कविता मुखिया, कलामुद्दीन खान, राजेन्द्र विक, राजकुमार गाहा, सिर्जना भण्डारी, तुलसादेवी श्रेष्ठसहित ४२ जना छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष अशोककुमार राईले दलहरूबीचको भागबन्डा केन्द्रित राजनीतिले मुलुकलाई थिलोथिलो पारेको आरोप लगाए।

भ्रष्टाचार र घुसखोरीको दुष्चक्र अन्त्य गर्नु अहिलेको प्रमुख राजनीतिक कार्यभार भएको उनको भनाइ थियो।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्थाका पक्षमा पार्टीले स्थापनादेखि नै उठाएकाे र त्यसले नै स्थायी समाधान दिने दाबी गरे।

पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले विचार तथा एजेन्डा मिल्ने दलहरूसँग बृहत मोर्चा निर्माण गरी सहकार्यको आधारमा निर्वाचनमा जाने र जनमतमार्फत आफ्नो एजेन्डा कार्यान्वयन गर्ने पार्टीको लक्ष्य रहेको बताए।

लुम्बिनी प्रदेश इन्चार्ज तथा केन्द्रीय कार्यकारिणी सदस्य मनिकर कार्कीले आर्थिक र सामाजिक विभेद अन्त्य गर्दै रुपान्तरणका कार्यक्रम कार्यान्वयन गर्नु पार्टीको मूल राजनीतिक ध्येय भएको उल्लेख गरे।

उनका अनुसार जनमुखी संगठन निर्माण वर्तमान प्राथमिकता हो।

कार्यक्रममा कार्यकारिणी सदस्य अख्तर हुसैन फारुकी, प्रदेश सहइन्चार्ज नबिनकुमार सुनुवार, प्रदेश सभा सदस्य भण्डारीलाल अहिर, केन्द्रीय सदस्य अकरम पठान, अमरबहादुर खड्का, नेत्रबहादुर थापा, तरन्नम बानु, खिक बहादुर बुढा लगायतका नेताहरूले संकटको समयमा विचार र सिद्धान्तको रक्षा गर्दै संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने धारणा राखे।