खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित हलेसी बजार क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) को चुनावी प्रचार सामग्री अज्ञात समूहले च्यातेको छ।

जसपाले गत आइतबार हलेसी बजार आसपास करिब ४०० वटा चुनावी पोस्टर टाँसेको थियो।

तर, सोही दिन राति ती पोस्टर च्यातिएको जसपा हलेसी तुवाचुङ नगरका कोषाध्यक्ष गिरिराज राईले दाबी गरेका छन्।

जसपाबाट खोटाङमा यसपटक राकेश राई प्रत्यक्ष उम्मेदवार छन् भने समानुपातिक उम्मेदवारमा रेनुका राई छिन्।

राकेश राई खोटाङ सेवा समाजको अध्यक्षका रूपमा लामो समयदेखि खोटाङ्गे जनताको सेवामा खटिँदै आएका परिचित व्यक्ति हुन्।

जसपाले भोट बिगार्ने भएपछि विपक्षी दलका कार्यकर्ताले नै पोस्टर च्यातेको हुन सक्ने गिरिराज राईको अनुमान छ।

उनले लोकतन्त्रमा निर्वाध रूपमा निर्वाचन लड्न र प्रचार गर्न पाउने अधिकार हुँदाहुँदै प्रचार सामग्री च्यातिनु अलोकतान्त्रिक र अमानवीय व्यवहार भएको टिप्पणी गरे।

उनका अनुसार पोस्टर कसले च्यातेको हो भन्ने पत्ता लगाउन सिसिटिभी क्यामेराको फुटेज हेर्ने तयारी भइरहेको छ।