खोटाङ। भोजपुरस्थित टेम्केमैयुङ गाउँपालिकाले खोटाङ र भोजपुरको सीमामा पर्ने ३ हजार १ सय मिटर उचाइमा अवस्थित टेम्के डाँडामा निर्माण गरिएको भ्यू टावरको स्वामित्व नलिने जनाएको छ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले दुई पटकसम्म टेम्केमा टावर निर्माण नगर्न सम्बन्धित निकायलाई पत्र लेखेको भए पनि टावर निर्माण गरिएकोमा स्थानीय सरकारको समर्थन नरहेको र टावरको स्वामित्व पनि नलिने बताए।
कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १३ करोड ६२ लाख ८१ हजार लगानी गरी टेम्केमा टावर निर्माण गरेको हो।
सुन्दर पर्यटकीय गन्तव्यका रूपमा रहेको टेम्केको डाँडासम्म सडक खन्ने र डाँडामा टावर बनाउने कार्यले टेम्केको प्राकृतिक सुन्दरता नष्ट गरेको छ।
सबैभन्दा पहिले तत्कालीन नेकपा (माओवादी) का नेता तथा पूर्वमन्त्री गोपाल किरातीले टेम्केमा माओवादी जनयुद्धको प्रतीकका रूपमा ‘गणतन्त्र टावर’ निर्माण गर्न आर्थिक संकलन अभियान थालेका थिए।
जसका लागि केही आर्थिक संकलन पनि गरिएको थियो भने टेम्केमा टावरको जग खनेर लामो समय अलपत्र पारिएको थियो।
पछि प्रदेश सरकारको लगानीमा साेही ठाउँमा पहिलेकाे डिजाइन समेत परिवर्तन गरी टावर निर्माण गरिएको हो।
सुन्दर पर्यटकीय गन्तव्यका रूपमा रहेको टेम्केको डाँडासम्म सडक खन्ने र डाँडामा टावर बनाउने कार्यले टेम्केको प्राकृतिक सुन्दरता नष्ट गरेको छ। पर्यटकीय विकासको नाममा टेम्के अहिले कुरूप बनेको छ।
अध्यक्ष बस्नेतले हाम्रै सामाजिक चेतना ढिलो गरी विकास हुँदा टेम्के कुरूप बनेको बताए।
उनले टेम्के जाने हात्तिखर्कसम्म सडक बनाउने र त्यहाँबाट पैदल हिँडेर जाने व्यवस्था गर्न चाहेको भए पनि सुन्दर पाखाहरूमा डोजर चलाएर डाँडासम्मै सडक पुर्याउने र डाँडामा टावर बनाउने परिकल्पना गलत भएको बताए।
उनले प्रदेश सरकारले उक्त संरचना जिम्मा लिन आग्रह गरिरहेको भए पनि स्थानीय सरकारले जिम्मा नलिने बताए।

