SEE दिएका विद्यार्थीहरूका लागि विराटनगरमा वृहत् प्राविधिक शिक्षा मेला आयोजना हुने

विराटनगर । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा Council for Technical Education and Vocational Training (CTEVT) कोशी प्रदेश कार्यालयको संयुक्त आयोजनामा विराटनगरस्थित श्री आदर्श माध्यमिक विद्यालयमा आगामी जेठ २ र ३ गते वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी सञ्चालन हुने भएको छ।

“सीप आजको आवश्यकता, भविष्यको सुनिश्चितता” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त मेलाले विशेषगरी SEE दिएका विद्यार्थीहरूलाई आफ्नो भविष्यको अध्ययन तथा करिअर छनोट गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

मेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहअन्तर्गतका विद्यालयहरूबाट शिक्षक, विद्यार्थी, अभिभावक तथा जनप्रतिनिधिहरूको सहभागिता रहनेछ।

विद्यार्थीहरूले प्राविधिक तथा व्यावसायिक शिक्षाका विविध क्षेत्रबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नुका साथै आफूलाई उपयुक्त विषय छनोट गर्न सहज हुने विश्वास लिइएको छ।

मेलाका मुख्य आकर्षण

मेलामा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि, हस्पिटालिटी लगायतका क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक कार्य, परियोजना तथा नवीनतम प्रविधिको प्रत्यक्ष प्रदर्शन गर्नेछन्।

विशेषज्ञ तथा प्रशिक्षकहरूले कुन विषय अध्ययन गर्दा भविष्यमा कस्ता अवसर प्राप्त हुन्छन्, कुन क्षेत्रमा रोजगारीको सम्भावना बढी छ तथा स्वदेश–विदेशमा उपलब्ध अवसरबारे प्रत्यक्ष परामर्श दिनेछन्।

आयोजकका अनुसार यसबाट SEE दिएका विद्यार्थीहरूले “सीप सिकेर कसरी रोजगारी तथा स्वरोजगार बन्न सकिन्छ” भन्ने विषय व्यवहारिक रूपमा बुझ्न सक्नेछन्।

त्यसैगरी, CTEVT अन्तर्गतका आङ्गिक शिक्षालय, टेक्स विद्यालय, साझेदारी शिक्षालय, सम्बन्धन स्वीकृति प्राप्त निजी शिक्षण संस्था तथा विभिन्न तालिम प्रदायक निकायका गरी ४० वटा शैक्षिक स्टल रहनेछन्।

ती स्टलमार्फत विद्यार्थीहरूले एउटै स्थानबाट विभिन्न कलेज तथा अध्ययन कार्यक्रमबारे जानकारी लिन सक्नेछन्।

मेलामा करिअर काउन्सेलिङ तथा मार्गदर्शन कार्यक्रम पनि सञ्चालन गरिनेछ।

विशेषज्ञ तथा प्रशिक्षकहरूले कुन विषय अध्ययन गर्दा भविष्यमा कस्ता अवसर प्राप्त हुन्छन्, कुन क्षेत्रमा रोजगारीको सम्भावना बढी छ तथा स्वदेश–विदेशमा उपलब्ध अवसरबारे प्रत्यक्ष परामर्श दिनेछन्।

यस्तै, आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीहरूका लागि उपलब्ध छात्रवृत्ति, निःशुल्क अध्ययन अवसर, भर्ना प्रक्रिया तथा आवश्यक योग्यताबारे विस्तृत जानकारी प्रदान गरिने जनाइएको छ।

सीपमूलक शिक्षा अध्ययनपछि विद्यार्थीहरूले कसरी छिट्टै रोजगारी प्राप्त गर्न सक्छन् वा आफ्नै व्यवसाय सञ्चालन गर्न सक्छन् भन्ने विषयमा समेत जानकारी दिइने आयोजकले जनाएको छ।

साथै, विभिन्न क्षेत्रमा अध्ययनरत विद्यार्थी, प्रशिक्षक तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

मेलामा कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्री, मन्त्रालयका सचिव, रोजगारदाता संस्था, स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहने CTEVT कोशी प्रदेश कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत शिशिर सुब्बाले जानकारी दिए।

उनका अनुसार, “आजको प्रतिस्पर्धात्मक समयमा केवल प्रमाणपत्र मात्र नभई व्यवहारिक सीप अत्यन्त आवश्यक भएकाले विद्यार्थीहरूलाई समयमै सही करिअर मार्गदर्शन प्रदान गर्न यो मेला महत्वपूर्ण अवसर बन्नेछ।”

SEE उत्तीर्ण गरेका विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्दै उनीहरूलाई श्रम बजार तथा रोजगारदाताको मागअनुसार समयसापेक्ष सीप सिकाई आत्मनिर्भर बनाउनुका साथै राष्ट्रको सामाजिक तथा आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिममार्फत युवाहरूलाई सीपयुक्त बनाउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

मेलाको औपचारिक उद्घाटन जेठ २ गते बिहान ९ बजे हुनेछ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img