बहुसांस्कृतिक राज्य नेपाल र नयाँ राष्ट्रिय पहिचानको आवश्यकता

वर्तमान नेपाल राज्यको सिमाना भित्र बसोबास गर्ने नेपाली जनताहरूको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई आत्मसात् गरेर वर्तमान नेपालको संविधान २०७२ ले आफ्नो प्रस्तावनामा उल्लेख गरेको छ l तथापि; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भनेर नेपाल राज्यलाई ब्याख्या गरिए पनि एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो र राज्यको सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित भएको कुरा वर्तमान संविधानमा उल्लेख गरिएको छ l विविध जाति, भाषा, संस्कृति, सभ्यता र इतिहासको जगमाथि स्थापना भएको नेपाल राज्यको वर्तमान संविधानमा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधतालाई विवरणात्मक रुपमा मात्र उल्लेख गरेर जनताको जातीय, भाषिक, सांस्कृतिक आदि मौलिक पहिचानको सार्वभौमिकताकाे पक्षमा भने यो संविधान मौन छ । यस्तो अवस्थामा Stuart Hall ले भने जस्तै The dominant culture is working to make itself the universe culture अर्थात् वर्चश्वशाली र प्रभुत्वशाली संस्कृति राज्यको सार्वभौमिक वा साझा संस्कृति वा मूल संस्कृति बन्ने प्रयास गर्दछ l यसरी बहुसांस्कृतिक राज्य नेपालको वर्तमान संविधानलाई हेर्दा राष्ट्र (Nation) के हो र राष्ट्रियता (Nationality) के हो भन्ने प्रश्नको स्पष्ट जवाफ पाउन सकिँदैन l नेपाल कस्तो राज्य हो, यो राष्ट्र-राज्य (Nation-state) हो वा राज्य-राष्ट्र (State-nation) हो, वा सभ्यता-राज्य (Civilization-state) हो, यी गहन राजनीतिक सवालहरूको जवाफ नेपालको वर्तमान संविधानले दिन सक्तैन ।

सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नीहित छ भन्दै पूर्णरुपले राजनीतिक निर्णयबाट निर्धारण गरिएको वर्तमान नेपालले अवलम्बन गरेको राजनीतिक राष्ट्रवाद (Political nationalism) र नागरिक राष्ट्रवादले (Civic nationalism) नेपाल राज्यको बहुसांस्कृतिक राष्ट्रिय पहिचानलाई (Multicultural national identity) सम्बोधन गर्न सक्तैन । राष्ट्रवाद भनेको केवल भूगोल र जनताको उपस्थिति मात्र होइन, राष्ट्रवाद भनेको सांस्कृतिक समानताको आधारमा एकजुट हुने आस्था पनि हो (Johari JC, 2018 AD) । राष्ट्रवादको सही बुझाइसँगै राष्ट्रिय पहिचानको निर्माण हुन्छ । राष्ट्रिय पहिचानले कुनै पनि राज्य वा देशका नागरिकलाई अर्को देशको नागरिकसँग फरक देखाउने र आफ्नो देशप्रति आस्थाभाव जगाउने काम गर्दछ । राष्ट्रिय पहिचान भनेको समाजद्वारा निर्मित कुरा हो भन्नेमा धेरै विद्वानहरू सहमत छन् (Fukuyama F, 2014 AD) l हो, यही समाजद्वारा निर्मित राष्ट्रिय पहिचानले नेपाल जस्तो बहुसांस्कृतिक राज्यको वास्तविक राष्ट्रिय पहिचान निर्माण गर्न सकेको छैन र अब यो राजनीतिक वृत्तमा बहसको बिषय बन्न जरुरी भइसकेको छ । सांस्कृतिक सम्मिश्रण (Cultural amalgamation) भएको बहुसांस्कृतिक नेपालमा नेपाली समाज र संस्कृतिको बारेमा गम्भीर र गहन अध्ययन अझै हुन सकेको छैन (सुबेदी, लोकनारायण l २०७६, महतरा, प्रविण l २०८१) भनेर अध्येताहरूले आवाज उठाइरहेका छन् ।

नेपाल जस्तो बहुसांस्कृतिक राज्यमा सबै संस्कृतिहरूको राजनीतिमा समान पहुँच नभएका कारण आफ्नो संस्कृति र राजनीति बिचको अन्तरसम्बन्ध बुझ्ने र हेर्ने दृष्टिकोण पनि फरक फरक देखिन्छ l राजनीतिमा वर्चश्वशाली समुदायले आफ्नो संस्कृति र राजनीति बिचको अन्तरसम्बन्ध राम्ररी बुझेको छ र यो समुदायले आफ्नो संस्कृतिलाई बुझ्ने चेतना भनेको ठाडो चेतना हो ।

संस्कृति र राजनीति समाजका अभिन्न र आधारभूत स्तम्भहरू हुन् । राजनीति र संस्कृतिबीच अन्योन्याश्रीत सम्बन्ध हुन्छ । यदि कुनै राज्य समान रुपमा एक संस्कृतिबाट मात्र निर्माण भएको अवस्थामा अथवा कुनै एक राज्यमा बसोबास गर्ने सबै नागरिकले अवलम्बन गर्ने संस्कृति एकै भएमा राजनीति र संस्कृति बिचको अन्तरसम्बन्धलाई जटिल रुपमा हेर्न आवश्यक नहुन सक्छ । तर नेपाल जस्तो बहुसांस्कृतिक राज्यमा संस्कृति र राजनीति बिचको अन्तरसम्बन्ध बहुआयामिक रुपमा अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ । सांस्कृतिक विविधताका कारण कुनै पनि जाति वा राष्ट्र समुदायको रीतिरिवाज, जीवन पद्धति र संसारलाई बुझ्ने दर्शन फरक फरक हुन सक्तछ, यही फरकपन र विविधता एक सहमतीको घेराभित्र नहुन सक्छ । यसैकारण एक राजनीतिक सिमाभित्र बसोबास गर्ने नागरिकहरूबीच सांस्कृतिक विविधता एक आपसमा टकरावको कारण बन्न सक्तछ l हो, बहुसांस्कृतिक राज्य नेपालमा आज भइरहेको पनि यही नै हो l वर्तमान नेपालको राजनीतिमा खस आर्य समुदाय बिशेष गरेर आर्य राष्ट्र समुदायको प्रभुत्व र वर्चश्वताका कारण राज्य एकल सांस्कृतिक चरित्रको छ । सबै अन्य अवस्थित संस्कृतिहरू राज्यको मुलधार संस्कृति बन्न सकेका छैनन् l राज्य आफ्नो शक्ति र स्राेत प्रयोग गरेर यहाँका आदिवासी जनजाति र थारु लगायतका मौलिक संस्कृति र आस्थाका धरोहरहरूमाथि विभिन्न बहानामा प्रहार गरिरहेको छ l नागरिक र समाज बेगर राज्य बन्दैन । सामाजिक दृष्टिकोणले वर्तमान नेपाल राज्यको एक आधारशीला लिम्बू (याक्थुङ) राष्ट्र समुदायको मुन्धुमी र सांस्कृतिक आस्थाको पवित्र स्थल मुक्कुमलुङ (वर्चश्वशाली भाषामा पाथिभरा भनिने) माथि राजनीति र राज्यमा पहुँच हुनेवालाहरूबाट भइरहेको ब्यापारिकरणको प्रयास (श्रेष्ठ, भोजराज l २०८३) यसको एक ज्वलन्त उदाहरण हो ।

नेपाल जस्तो बहुसांस्कृतिक राज्यमा सबै संस्कृतिहरूको राजनीतिमा समान पहुँच नभएका कारण आफ्नो संस्कृति र राजनीति बिचको अन्तरसम्बन्ध बुझ्ने र हेर्ने दृष्टिकोण पनि फरक फरक देखिन्छ l राजनीतिमा वर्चश्वशाली समुदायले आफ्नो संस्कृति र राजनीति बिचको अन्तरसम्बन्ध राम्ररी बुझेको छ र यो समुदायले आफ्नो संस्कृतिलाई बुझ्ने चेतना भनेको ठाडो चेतना हो, किनकि राज्यको हरेक संयन्त्र र संरचनामा एक संस्कृतिलाई प्राथमिकता दिएर अन्य अवस्थित संस्कृतिहरुलाई विभेद र बहिष्करणमा पारिएको छ l घटस्थापना र शिवरात्रीमा राज्यको स्राेत र साधन प्रयोग गरेर राष्ट्रिय रङ दिनु तर ल्होसार, साकेला, माघी, चासोक आदिमा राज्य बेखबर बसेर सांस्कृतिक बिभेदलाई राज्यले खुल्ला रुपमा प्रदर्शन गरिरहेको छ । एकातिर राजनीति र आफ्नो संस्कृति बिचको अन्तरसम्बन्ध राम्ररी बुझ्ने र आफ्नो संस्कृतिप्रतिको ठाडो चेतनाका कारण खस आर्य संस्कृति नेपालको राष्ट्रिय रङ्गमा प्रभुत्वशाली भूमिकामा छ भन्दा फरक पर्दैन, अर्कोतिर संख्याको हिसाबले ठुलो संख्यामा रहे पनि राजनीति र संस्कृति बिचको अन्तरसम्बन्ध नबुझ्ने, राजनीति र संस्कृतिलाई अलग राखेर हेर्ने र आफ्नो संस्कृतिलाई केवल खानपान र नाचगानसँग मात्र जोडेर बुझ्ने मनोरञ्जनात्मक तेर्सो चेतनाको कारण यहाँका आदिवासी जनजाति, थारु लगायतको संस्कृति नेपाल राज्यको राष्ट्रिय रङ्गमा मूलधार बन्न सकेको छैन l

प्रभुत्वशाली र वर्चश्वशाली राष्ट्र समुदायले राजनीतिक शक्तिलाई आफ्नो मौलिक पहिचानसँग समायोजन (Adjust) गर्दछ भने कम्जोर राष्ट्र समुदायले आफ्नो मौलिक पहिचानलाई वर्चश्वशाली राजनीतिसँग समायोजन (Adjust) गर्नुपर्ने हुन्छ l आज नेपालमा यही भइरहेको छ l जनताको असन्तुष्टिलाई वेवास्ता गरेर किरात सभ्यता र लिम्बुवान इतिहास प्रष्टसँग हुँदा-हुँदै पनि र अधिकांश आदिवासी जनजाति सभासदहरू नै रहेको तत्कालीन प्रदेश नं. १ को प्रदेशसभाले त्यहाँको सभ्यता र इतिहासलाई नकार्दै राजनीतिक शक्तिको प्रयोग गरेर एकल र केन्द्रिकृत संस्कृति र भाषिक पहिचान बोकेको कोशी नामाङ्कनको (अधिकारी, हरि । २०८०) राजनीतिक घटनालाई वर्चश्वशाली राजनीतिक शक्तिको चाहना अनुसार कम्जोर पहिचानलाई प्रभुत्वशाली पहिचानमा समायोजन गरिएको एक पछिल्लो उदाहरणको रुपमा लिन सकिन्छ । यसरी बिभिन्न राजनीतिक पार्टीहरूमा विभाजित यस देशका आदिवासी, थारु लगायत जनजातिहरू आफू राजनीतिक शक्तिको निर्णयकारी भूमिकामा नभएका कारण आफ्नो पुर्खाको बिरासत, आफ्नो सभ्यता, संस्कृति र इतिहास बोकेको आफ्नो मौलिक पहिचानलाई पराई सभ्यता र संस्कृतिको अधिनस्थमा राख्न आफ्नै मत प्रयोग गरिरहेका छन् l यसो हुनको एक कारणमा यहाँका आदिवासी जनजातिहरूको आफ्नो संस्कृतिलाई राजनीतिसँग जोडेर नहेर्ने अर्थात् राजनीति र संस्कृति बिचको अन्तरसम्बन्ध नबुझ्ने र आपनो संस्कृतिलाई बुझ्ने तेर्सो चेतनाको कारण हो । त्यसो त राज्य चतुर नै हुन्छ l प्राचीन रोमन कवि Juvenal ले बर्णन गरे जस्तै शासकहरू जनतालाई खाना र मनोरञ्जनमा भुल्याएर आफू सत्तामा टिकीरहन Bread and circuses अथवा Food and entertainment को नीति पनि प्रयोग गर्दछन् l नेपालका आदिवासी जनजातिहरूको आफ्नो मौलिक पहिचानसँग जोडिएको आफ्नो मौलिक संस्कृतिलाई हेर्ने केवल मनोरञ्जनात्मक तेर्सो चेतना र कुनै पनि राजनीतिक पार्टीको नीति र सिद्धान्तभन्दा पनि आफ्नो अवसरको बढी खोजी गर्ने चरित्रका कारण आफ्नो मौलिक सांस्कृतिक पहिचानलाई राज्यको राष्ट्रिय पहिचान बनाउन नसकेका आदिवासी, थारु लगायत राष्ट्र समुदायहरू Bread and circuses अथवा Food and entertainment (? पद, पैसा र मनोरन्जन) मा भुलिरहेका छन् भन्दा अत्युक्ति नहोला ।

समान जाति, भाषा, संस्कृति र इतिहास भएका विविध राष्ट्रहरूको (Nations) बसोबास भएको राज्य/देश (State/country) हाे नेपाल । नेपाल एक भौगोलिक दृष्टिकोणले हिमाल, पहाड र तराई गाँसिएको र सांस्कृतिक हिसाबले विविध राष्ट्र समुदायहरू बसोबास गरेको एक राष्ट्र-राज्य हो (गौतम, प्रा. कृष्ण l २०७४) l समय र विकासक्रम सँगै समग्र नेपालमा जाति, भाषा र संस्कृतिको मिश्रित बसोबास देखिए पनि कुनै एक निश्चित भूगोलमा कुनै एक खास राष्ट्र समुदायको थातथलो हो; उदाहरणका लागि, काठमाडौँ उपत्यका थातथलो भएका नेवारहरू त्यहाँ राष्ट्र हुन् भने धरानमा नेवार जातीय समूह मात्र हो (महर्जन, राजेन्द्र l 2015 AD) । एकल संस्कृतिको प्रभुत्व कायम राख्न राज्यले निर्माण गरेको मिश्रित बसोबासको भाष्यलाई यसरी जवाफ दिन सकिन्छ l वास्तवमा इतिहासलाई पढ्ने हो भने वर्तमान नेपाल राज्यमा बसोबास गरेका यहाँका आदिवासी लगायत राष्ट्र समुदायहरूको खास खास ऐतिहासिक थातथलो सजिलै पहिचान गर्न सकिन्छ l राजनीतिक शक्तिले आफ्नो अनुकूल राजनीतिक साँध सिमानाहरू निर्धारण गरेका कारण नेपालका आदिवासीहरू आफ्नो मौलिक संस्कृति, आफ्नो मौलिक पहिचान र आफ्नो ऐतिहासिक थातथलो बिचको सम्बन्ध बारे केही हदसम्म दिग्भ्रमित भइरहेका छन् ।

हाम्रै पुस्ता र हाम्रै आँखा अगाडि नेपालमा थुप्रै राजनीतिक घटनाहरू र परिवर्तनहरू भएका छन् । राजतन्त्र, गणतन्त्र, लोकतन्त्र, एकात्मक व्यवस्था, बहुदलीय व्यवस्था, केन्द्रिकृत शासन, संघीय शाशन प्रणाली आदि थुप्रै शब्दावलीहरू राजनीतिको बजारमा बिक्री भएका छन् । केही हदसम्म अपूर्ण र अपरिपक्क भए पनि यही राजनीतिक माहोलले नेपालको इतिहासलाई अगाडि धकेलिरहेको छ l प्राविधिक रुपमा नेपाल राज्यभित्र पर्ने प्रशासनिक राजनीतिक इकाईहरूको साँध सिमानाहरू तलमाथि गर्ने काम भइरहेकै छ l राष्ट्रप्रमुख, कार्यकारी प्रमुख, मन्त्रीगण फेरिने प्रक्रिया चलिरहेकै छ र आवधिक निर्वाचनहरू भइरहेकै छन् । तर राष्ट्र, राष्ट्रवाद, राष्ट्रिय पहिचान जस्ता राजनीति बिज्ञानको आँखाबाट हेर्ने हो भने एकतन्त्रीय राजतन्त्रात्मक पञ्चायतकालीन नेपाल र अहिलेको धर्मनिरपेक्ष, संघीय गणतन्त्र नेपालमा खासै फरक पाउन सकिँदैन । नेपालमा सांस्कृतिक र भौगोलिक विविधता छ तर नेपाल राज्यको परिभाषा अझै पनि खस आर्य राष्ट्रियताको आधारमा गरिन्छ (Himalkhabar, YouTube, Oct 6,2025), अनि राज्यको सर्वोच्च निकाय संसदमा प्रधानमन्त्रीले दौरा-सुरुवाल किन लाएनन् भनेर आवाज उठाइन्छ (NepalTas २०८३/०१/२८) l यदि यस्तै हो भने नेपालका प्रधानमन्त्रीले संसदमा बख्खु वा भांग्रो वा धोती र कुर्ता किन लाएनन् भनेर किन आवाज नउठाउने ? महिला जनप्रतिनिधिहरूले संसदमा हाकुपटासी किन लगाएनन् भनेर आवाज किन नउठाउने ?

बहुसांस्कृतिक राज्यमा एकल संस्कृतिको वर्चश्वताले कायम गरेको राष्ट्रवाद र राष्ट्रिय पहिचानले नेपालको वास्तविक मौलिक पहिचान झल्काउन सक्तैन l विश्व सामु बहुसांस्कृतिक राज्य नेपालको मौलिकतालाई चिनाउन नेपालको नयाँ बहुसांस्कृतिक राष्ट्रिय पहिचान निर्माण गर्न आवश्यक छ l

विविध जाति, भाषा, रीतिरिवाज, संस्कृति र सभ्यताहरूको जगमाथि स्थापना भएको नेपाल राज्यले वास्तवमै अब नयाँ राष्ट्रिय पहिचानसहित विश्वमा आफ्नो मौलिक अस्तित्व खोज्ने बेला भएको छ l उही पुरानै शैलीको राजनीति, उही पुरानै शब्दावलीहरू; वर्ग, धनी, गरिब, किसान, मजदुर, क्रान्ती, समाजवाद, पुँजिवाद अनि उही पुरानै शैलीको सुशासन र समृद्धि जस्ता कुराहरू मात्र उठाएर (बराल, अरुण l २०८२) यो देशको बास्तविक बहुसांस्कृतिक राष्ट्रिय पहिचानलाई न्याय दिन सकिँदैन l हो, बिगतको नेपाली राजनीतिक इतिहासलाई हेर्दा सबै अल्पसंख्यक जाति समुदायहरूको बसोबास भएको नेपाल राज्यमा राज्यको तथ्यांक अनुसार नै झन्डै ४०% जनसंख्याको हिस्सा ओगट्ने आदिवासी, थारु लगायतको आफ्नो संस्कृति र राजनीति बिचको अन्तरसम्बन्धलाई बुझ्न नसक्ने र आफ्नो मौलिक संस्कृतिलाई केवल मनोरञ्जनात्मक तेर्सो चेतनाले मात्र बुझ्ने चेतनास्तर र अर्कोतिर आफ्नो मौलिक संस्कृति र राजनीति बिचको अन्तरसम्बन्ध राम्ररी बुझ्ने खस आर्य समुदायको आफ्नो संस्कृतिप्रतिको ठाडो चेतनाका कारण बहुसांस्कृतिक नेपालको वास्तविक राष्ट्रिय पहिचान बन्न सकेन र नेपालको राष्ट्रिय पहिचानलाई खस आर्य राष्ट्रियताको आधारमा मात्र परिभाषित गरियो l हो, बिगतको नेपाली राजनीतिलाई हेर्दा नेपालका आदिवासी जनजातिहरू राज्यको Bread and circuses अथवा Food and entertainment नीतिमा नै भुलिरहेका छन् भन्ने कथनलाई इन्कार गर्न सकिने अवस्था छैन ।

वर्तमान नेपाल राज्यको संविधानमा राष्ट्रको परिभाषा स्पष्ट छैन l नेपाल राज्यको जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विविधताको उल्लेख गरिएको छ । तर सार्वभौमसत्ता जनतामा निहित छ भनेर अस्पष्ट ब्याख्या गर्दै जनताको मौलिक सांस्कृतिक पहिचानको सार्वभौमिकतालाई इन्कार गरिएको छ l समान जाति, भाषा, संस्कृति, रीतिरिवाज र इतिहास भएको समुदाय एक राष्ट्र हो र यस्तै राष्ट्रहरूको जगमाथि नेपाल राज्यको स्थापना भएको हो भन्ने कुरा उल्लेख गर्न यस संविधानले भुलेको छ l वर्तमान नेपाल राज्यको स्थापना हुनु पुर्व रहेका बाईसे-चौबिसे राज्यहरू, नेपालमण्डल, किरात र लिम्बुवान आदि राज्यहरूको ऐतिहासिक अस्तित्वलाई स्वीकार्दै नेपाललाई एक राज्य-राष्ट्रको रुपमा पनि बहस गर्न सकिन्छ l यसरी वर्तमान नेपाल राज्यलाई विविध राष्ट्रहरू बसोबास गरेको एक बहुराष्ट्रिय राज्य भने पनि वा एक राज्य-राष्ट्रको रुपमा ब्याख्या गरे पनि नेपाल विविध संस्कृतिहरूको सम्मिश्रणले बनेको एक राज्य हो l वर्तमान अवस्थामा हाम्रो नेपाली पहिचान भन्ने भाष्यले वर्चश्वशाली र प्रभुत्वशाली संस्कृतिको मात्र प्रतिनिधित्व गरेको छ l संविधान आफैँमा एक गतिशील राजनीतिक दस्तावेज हो l वर्तमान नेपालको संविधान २०७२ आफैँमा पूर्ण छैन, यो कुरा युवा पुस्ताले बुझिसकेको छ (२५ जना जेनजीको संयुक्त बक्तब्य l २०८३ जेठ १) l लोकतन्त्र भनेको गन्तब्य होइन, यात्रा हो l महिला, दलित, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम सबैको भावना संविधानमा समेटिनुपर्ने युवा पुस्ताको (जेनजी) माग छ । बहुसांस्कृतिक राज्यमा एकल संस्कृतिको वर्चश्वताले कायम गरेको राष्ट्रवाद र राष्ट्रिय पहिचानले नेपालको वास्तविक मौलिक पहिचान झल्काउन सक्तैन l विश्व सामु बहुसांस्कृतिक राज्य नेपालको मौलिकतालाई चिनाउन नेपालको नयाँ बहुसांस्कृतिक राष्ट्रिय पहिचान निर्माण गर्न आवश्यक छ l यो नेपालको सुशासन र समृद्धि साथै लोकतन्त्रको आधार पनि हो ।

सन्दर्भ सामग्री:

  • अधिकारी, हरि । कोशी नामको एक बर्ष: आन्दोलन साम्य, असन्तुष्टि उस्तै l Onlinekhabar, फागुन १७, २०८० l
  • श्रेष्ठ, भोजराज । शक्तिको आडमा कसरी अगाडि बढ्यो केवलकार ? blastkhabar.com, बैशाख २३, २०८३ l
  • गौतम, प्रा. कृष्ण l नेपाली राष्ट्रिय पहिचानको डिस्कोर्स l Ekantipur, बैशाख ६, २०७४ l
  • नेपालको संविधान २०७२ l
  • मधेशी जेनजी अभियन्ता l Himalkhabar, youtube, Oct 6, 2025 AD l
  • महर्जन, राजेन्द्र l बिखण्डन रोक्ने सुत्र: बहुराष्ट्रिय राज्य l तराई न्यूज, Dec 16, 2015 AD l
  • महतरा, प्रविण l सांस्कृतिक विविधता नेपालको पहिचान l kakahara.com, असोज १८, २०८१ l
  • बराल, अरुण l अल्मलिएका कम्युनिष्ट अब हिँड्नुपर्ने बाटो l Onlinekhabar, चैत्र २६, २०८२ l
  • संयुक्त बक्तब्य l २५ जना जेनजी l सामाजिक संजाल (Facebook), जेठ १, २०८३ l
  • सामाजिक संजाल (Facebook), NepalTas, बैशाख २८, २०८३ l
  • सुवेदी, लोकनारायण l सांस्कृतिक विविधता नेपालको पहिचान l Khabarhub, माघ ७, २०७६ l
  • Fukuyama F. Political order and political decay. Manipal Technologies Ltd. 2014 AD l
  • Johari JC. Principles of modern political sciences. Sterling Publishing Pvt. Ltd. 2023 AD l

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्