कुमार लिङ्देन ‘मिराक’ नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्चले पूर्वी नेपालको लिम्बुवान पहिचान, ऐतिहासिक भूमि अधिकार, संघीयता र स्वायत्तताको मुद्दालाई राजनीतिक बहसमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। साथै, यो एक स्थापित राजनीतिक दलका रूपमा उभिएको छ।
राजनीतिक तथा वैचारिक उपलब्धि, संगठनात्मक उपलब्धि र कानुनी रूपमा प्राप्त उपलब्धि कति भए वा भएनन् भन्ने विषयमा छुट्टै बहस गरौँला। तर, प्रदेश नं. १ मा पहिचानको सवालमा यो निर्विकल्प एक दरिलो खम्बा हो।
कुमार लिङ्देन ‘मिराक’ ज्यूको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले हालसम्म हासिल गरेका उपलब्धिबारे यति कुरा भने बिना हिचकिचाहट भन्न सकिन्छ।
१. लिम्बुवानको मुद्दालाई राष्ट्रिय राजनीतिक बहसमा स्थापित गर्नु
कुमार लिङ्देन ‘मिराक’ नेतृत्वको राजनीतिक दलले अरुण–सप्तकोशीपूर्वका ऐतिहासिक भूभागलाई लिम्बुवान स्वायत्त राज्यका रूपमा पुनर्संरचना गर्नुपर्ने माग निरन्तर उठाउँदै आएको छ। यसले पहिचानमा आधारित संघीयताको बहसलाई थप बलियो बनाएको छ।

२. ऐतिहासिक भूमि र स्वायत्तताको सवाललाई राजनीतिक एजेन्डा बनाउनु
लिम्बुवानको ऐतिहासिक भूगोल, पहिचान, आत्मनिर्णयको अधिकार र स्वायत्त शासनसम्बन्धी मागलाई राजनीतिक दस्तावेज, आन्दोलन र वार्तामार्फत निरन्तर उठाइएको छ।
३. सरकारसँग लिम्बुवानसम्बन्धी सम्झौताको प्रक्रियामा सहभागिता
वि.सं. २०६४–६५ को संक्रमणकालमा लिम्बुवान राज्य परिषद् र सरकारबीच सम्झौता भएको थियो। उक्त सम्झौतामा ऐतिहासिक आधारमा स्वायत्त राज्य निर्माण, संविधानसभा निर्वाचनमा सहभागिता, आन्दोलनका क्रममा मृत्यु भएका राजकुमार आङ्देम्बे र राज्यबाट गोली हानी हत्या गरिएका मनिल तामाङलाई सहिदको सम्मान प्रदान गर्ने तथा घाइते र प्रभावितलाई राहत दिने विषय समेटिएका थिए। साथै, स्ववियु निर्वाचन समानुपातिक प्रणालीबाट हुनुपर्ने माग पनि उठाइएको थियो।
४. निर्वाचनमार्फत लिम्बुवानको मुद्दा संसदसम्म पुर्याउने प्रयास
कुमार लिङ्देन ‘मिराक’ नेतृत्वको राजनीतिक दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संविधानसभा र त्यसपछिका निर्वाचनमा सहभागिता जनाउँदै आएको छ। वि.सं. २०७४ को प्रदेशसभा निर्वाचनमा उनको नेतृत्वको दलले तत्कालीन प्रदेश नं. १ बाट समानुपातिकतर्फ एक सिट प्राप्त गरेको थियो। यो पनि प्रतिनिधित्वको एउटा उपलब्धि हो। उक्त दलबाट विष्णुमाया तुम्बाहाम्फे प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो र उहाँले राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।
हालसम्म पनि लिम्बुवान पक्षधर राजनीतिक संगठन निर्माण र विस्तारमा यो दल निरन्तर क्रियाशील छ। लिम्बुवानका विभिन्न आन्दोलनहरूमा, चाहे त्यो नोक्सी आन्दोलन होस् वा मुक्कुमलुङ आन्दोलन, कुमार लिङ्देन ‘मिराक’ अग्रपंक्तिमा रहँदै आउनुभएको छ। साथै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आबद्ध सम्पूर्ण नेता तथा कार्यकर्ताहरूले आन्दोलनमा संगठन निर्माण, कार्यकर्ता परिचालन र पहिचानको मुद्दासँग सम्बन्धित विभिन्न आन्दोलनहरूमा सधैँ अग्रपंक्तिमा रहेर सहभागिता जनाउँदै आएका छन्।
त्यसैले,
उपलब्धि केलाई मान्ने? यसको जवाफ तपाईंले पनि स्वयं आत्मसमीक्षा गरेर खोज्न सक्नुहुनेछ।
अन्त्यमा : कुमार लिङ्देन ‘मिराक’ ज्यूलाई एकपटक आँट र साथ दिऔँ। सबैले साथ दिऔँ र नेपालको आठौँ प्रदेश ‘लिम्बुवान’ घोषणा तथा स्थापना गरौँ।
(साभार, केरुङकाे फेसबुकबाट।)