‘लोक कल्याण र पृथ्वी आमाको लागि सँगसँगै’ भन्ने नाराका साथ दोस्रो विश्व आदिवासी जनजाति महिलना सम्मेलन हुने भएको छ ।
यही साउन २९ देखि भदौ १७ गतेसम्म भर्चुअल रुपमा सम्मेलन हुनेछ । जसमा विश्वका पाँच सय आदिवासी जनजाति महिलाकाे सहभागिता हुनेछ ।
सम्मेलनले विश्वव्यापीरुपमा आदिवासी जनजाति महिलाहरुबीच साझा सहमति निर्माण गर्ने र वृहत सामूहिक एजेण्डा निर्माण गर्ने अपेक्षा छ ।
साथै आदिवासी जनजाति महिलाको व्यक्तिगत र सामूहिक अधिकारसम्वन्धी कमीकमजोरीहरु, सुधार गर्नुपर्ने विषयहरु र चुनौतीहरुका सम्बन्धमा कसरी स्थानीय, क्षेत्रीय र राष्ट्रिय तहमा पैरवी गर्ने भन्ने सम्बन्धमा बृहत छलफल हुनेछ ।
त्यस्तै सम्मेलनले आदिवासी जनजाति महिलाहरुको आवश्यकता तथा प्राथमिकता अनुसार विश्वव्यापी एजेण्डाहरुको अनुगमनका लागि संयन्त्र र रणनीतिका सम्बन्धमा बृहत सहमति कायम गर्नेछ ।
सम्मेलनमा आदिवासी जनजाति महिलाहरुको अधिकारको पहिचान र संरक्षणका सम्बन्धमा राज्यहरुको प्रतिबद्धता र बाध्यकारी व्यवस्थाको सन्दर्भमा आएका चुनौती र कार्यान्वयनमा उनीहरुको सहभागिता, आदिवासी जनजातिका मुख्य मुद्दालाई मूल प्रवाहमा ल्याउन अन्तर्राष्ट्रिय राजनीतिक घोषणा तथा एजेण्डाको विकासका साथै विभिन्न तहमा आदिवासी जनजाति महिलाहरुको आन्दोलनको अवस्थाबारे पनि सम्मेलनले समिक्षा गर्नेछ ।
सम्मेलनमा नेपालबाट आदिवासी जनजाति महिलाको अधिकारका क्षेत्रमा काम गरिरहेका चार राष्ट्रिय स्तरका संस्थाहरु राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, आदिवासी महिला कानुनी सचेतना समूह, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ सहभागी हुँदैछ ।
चार संस्थाको तर्फबाट “आदिवासी जनजाति महिलाको भूभाग, भू–क्षेत्र र श्रोतको अधिकार”, “नेपालमा सिडको निष्कर्ष सुझावको कार्यान्वयनको स्थिति”, “आदिवासी जनजाति महिलाहरुको निर्णायक तहमा अर्थपूर्ण र प्रभावकारी सहभागिता”, “आदिवासी जनजातिहरूको संयुक्त राष्ट्रसंघीय घोषणापत्र, आदिवासी जनजातिहरूको संयुक्त राष्ट्रसंघको स्थायी मञ्चका सुझावहरु र आदिवासी जनजातिहरूको विश्व सम्मेलनको अडानपत्रमा आदिवासी जनजाति महिलाहरूको व्यक्तिगत र सामूहिक अधिकारका प्रावधानहरु” र “आदिवासी जनजाति महिलाभित्र अन्तरक्षेत्रीय बहसः अपाङ्गता भएका महिलाहरूको दृष्टिकोण” मा अन्तरक्रियात्मक सत्रहरु सञ्चालन गरिने छ ।
प्रथम विश्व आदिवासी जनजाति महिला सम्मेलन सन् २०१३ अक्टोबरमा पेरुको लिमामा International Indigenous Women’s Forum/Foro Internacional de Mujeres Indígenas (FIMI) को आयोजनामा भएको थियो । उक्त सम्मेलनले लिमा अडानपत्र तथा कार्ययोजना जारी गरेको थियो ।
संयुक्त राष्ट्रसंघ र आदिवासी जनजाति आन्दोलनमा आदिवासी जनजाति महिलाले निर्वाह गरेको मुख्य भूमिकामा यसले रोडम्यापको काम गर्नुकासाथै सुचनामा विभेद, यौन तथा प्रजनन स्वास्थ्य र प्रजनन अधिकारमा पहुँच क्षमता अभिवृद्धि, आदिवासी जनजाति महिलाहरुको सशक्तिकरण, आदिवासी जनजाति महिलाविरुद्ध हुने हिंसा र विभेदको दस्तावेजीकरण गरेको थियो ।