अधिवक्ता युवराज संग्रौलाले प्रदेश नं १ को नाम किरात राख्नुपर्ने बताएका छन् ।
प्रदेश नं १ को नाम के राख्ने भन्नेबारे राजनीतिक बहस चलिरहेका बेला नेपाल बार काउन्सिलका पूर्वअध्यक्ष समेत रहेका संग्रौलाले किरात नेपालको एउटा सभ्यता रहेको भन्दै प्रदेश नं १ को नाम किरात राख्दा एक महत्वपूर्ण सभ्यताको पहिचान स्थापित हुने बताए ।
उनले सामाजिक सञ्जाल फेसबुकबाट यो कुरा बताएका हुन् ।
उनले आफू किरात प्रदेशमा जन्मिएको जातका हिसाबले बाहुन र सभ्यताका हिसाबले किराती रहेको उल्लेख गरेका छन् ।
‘किरात नेपालको एउटा मौलिक सभ्यता हो । किरात प्रदेशमा जन्मिएको जातमा बाहुन हुँ र सभ्यतामा किराती,’ उनले भने, ‘किरात प्रदेश नाम राख्दा एक महत्वपूर्ण सभ्यताको पहिचान स्थापित हुन्छ ।’
संग्रौलाले यसअभि पनि किरात नेपालको एक महत्वपूर्ण सभ्यता रहेकोले प्रदेशको नाम सभ्यताका आधारमा किरात हुनुपर्ने बताएका थिए ।
हाल प्रदेश नं १ को मात्र नाम राख्न बाँकी रहेको तथा केही दिनअघि मात्र प्रदेश २ को नाम मधेस प्रदेश राखिएको सन्दर्भमा प्रदेश १ लाई पनि अब किरात प्रदेश नाम राख्नुपर्ने माग उठेको हो ।
किरात प्रदेशको पक्षमा गैरकिरातीहरुले पनि लेख लेखेर तथा विभिन्न सामाजिक सञ्जालहरुबाट मत जाहेर गरिरहेका छन् ।
