गृह मन्त्रालयले सार्वजनिक स्थलमा प्र्यांक (ठट्टा) को नाममा सर्वसाधारण व्यक्तिहरुको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले आज एक प्रेस विज्ञप्ति जारी गरी प्र्यांक भिडियोको नाममा सम्बन्धित व्यक्तिको अनुमतिबेगर भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरे कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएका हुन् ।
प्र्यांक भिडियोका नाममा सर्वसाधारणलाई सास्ती दिने, मानसिक तनाव दिने, दिक्दार लगाउने लगायत क्रियाकलापको भिडियोहरु बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिएको गुनासो आएको भन्दै मन्त्रालयले सोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
‘सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक) को नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक वा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउनेजस्ता क्रियाकलापहरु गरी सोको गोप्य भिडियो तयार पार्ने र उक्त भिडियो सामाजिक सञ्जालहरुमा राख्ने कार्यहरु हुने गरेको भन्ने गुनासो तथा सूचना प्राप्त भइरहेको सम्बन्धमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक स्थलहरुमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवम् व्यक्तिगत गोपनियता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बीर लिन, सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिइ सम्बन्धित व्यक्तिको अनुमति/सहमतिबिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालहरुमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।’
नेपालमा हाल प्र्यांक भिडियो बनाएर युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने चलन बढेको छ ।
नेपालमा केही व्यक्तिहरुले गर्वका साथ आफूलाई ‘प्र्यांकस्टार’ भन्दै त्यस्ता भिडियो बनाएर युट्युबमा राखेर पैसा कमाउने मेलो गरिरहेका बेला सरकारले भने प्र्यांक भिडियो प्रतिबन्ध लगाउने गरी विज्ञप्ति निकालेको छ ।
किनभने प्र्यांक भिडियो सम्बन्धित व्यक्तिलाई थाहै नदिइ मनोरञ्जनका लागि बनाउने गरिन्छ ।




