खोटाङमा गोरुले हानेर एक जनालाई गम्भीर घाइते बनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ७ दोर्पाका असुरधोज राईलाई आज बिहान आफैले पालेको गोरुले हानेर गम्भीर घाइते बनाएको हो ।
चराउन लगेको गोरुले हान्दा उनको आन्द्रा बाहिर निस्केको छ ।
उनलाई दिक्तेलस्थित फेमिली केयर अस्पतालमा डा. केके राई नेतृत्वको चिकित्सकहरुको टोलीले इमरजेन्सी अपरेशन गरेको छ ।
बाहिर निस्केको आन्द्रा भित्र हालेको भए पनि उनी जोखिम अवस्थामै रहेको चिकित्सकहरुले बताएका छन् ।
जनता समाजवादी पार्टी खोटाङका युवा नेता रविन खम्बूका अनुसार घाइते भएका असुरधोज अपांग नागरिक समेत हुन् ।
उनी बोल्न सक्दैनन्, उनको खुट्टा पनि लर्बरिने गर्छ । परिवारमा उनको एक दाइ र एक दिदी भए पिन उनीहरु पनि खासै ठाटाबाठा छैनन् ।
उनीहरुको आर्थिक अवस्थासमेत निकै कमजोर छ ।
आफ्नाे छिमेकी गम्भीर घाइते भएपछि युवा नेता खम्बूसहितका केही व्यक्तिहरुले आर्थिक सहयोग संकलन गर्ने काम पनि थालेका छन् ।
करिब ५० वर्ष पुगेका असुरधोज अविवाहित हुन् । गाउँमा उनलाई ‘ढुन्डु कान्छा’ नामले चिन्दछन् ।
