नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन गरेर स्थानीय तहकाे निर्वाचन लड्दा अाफूहरुलाइ धाेका भएकाे बताएका छन् ।

बुधबार नेकपा एकीकृत समाजवादीकाे विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षकाे शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले साे कुरा बताएका हुन् ।

उनले भने, ‘हामीले गठबन्धन गरेका छौ । त्यसबारेमा समीक्षा गरिरहेका छौ । हामीलाई फाइदा भइरहेको छ । पोखराको मेयरमा हामीबाहेक अरु कसैले जित्न सक्दैनथ्यो । हेटौडामा पनि शानदार जित हासिल गरेका छौ । हाम्रो कमजोरी भनेको गठबन्धनको गीत धेरै गाउनु नै भयो । भरोसा धेरै गर्दा धोका भयो ।’

गठबन्धन गर्नुकाे सट्टा पार्टी एक्लै स्थानीय तहकाे निर्वाचन लडेकाे भए धेरै ठाउँमा सफलता हासिल हुने उनकाे भनाइ छ ।

उनले भने, ‘हामीले कतिपय ठाउँमा एक्लै लड्दा हाम्रो झण्डा फहराएको छ । अब हामी पार्टी निर्वाचन र चुनावको तयारीमा लाग्नुपर्छ । प्रदेश र संघको निर्वाचन मंसिरमा हुन्छ । चुनाव चिह्नको बारेमा जनतालाई बताउने र जनताको मन जित्न लाग्नुहोस् ।’

साे क्रममा उनले मन्त्रीपरिषद् हेरफेरको बिषयमा पार्टीभित्र कुनै विवाद नभएको बताए ।

उनले भने, ‘हामीले मन्त्रिमण्डल हेरफेर गरेका छौ । पार्टीमा सरकारमा गएका मन्त्रीहरूलाई ६ महिना भनेका थियौ । उहाँहरूले ८ महिना पाउनुभएको छ । उहाँहरूले राम्रो काम गर्नुभएको छ। पार्टीको निर्णयभन्दा बाहिर जाँदैनौं भनेर उहाँहरुले भनिराख्नुभएकै छ ।’