नेपाल पर्वरोहण संघमा गैरराजनैतिक समूहबाट वरिष्ठ उपाध्यक्षमा माया शेर्पाको समूहले उम्मेदवारी घोषणा गरेकाे छ ।
पर्वतारोही र व्यवसायिक समूहलाई स्थान दिनुपर्ने जोडका साथ गैरराजनैतिक समूह घोषणा गरिएकाे हाे ।
वरिष्ठ उपाध्यक्षमा सगरमाथासहित विश्वका ८ हजार मिटरमाथिका सातवटा हिमालको सफल आरोहण गरिसकेकी चर्चित आरोही माया शेर्पा उम्मेदवार बनेकी छन् । उनी यसअघि द्धितीय उपाध्यक्ष थिइन् ।
माया शेर्पा नेतृत्वको प्यानलबाट उपाध्यक्षमा व्यवसायी नुरु जाङ्बु शेर्पा, द्धितीय उपाध्यक्षमा सार्की तामाङ र महासचिवका आरोही तथा व्यवसायी आङ पेम्बा शेर्पा छन् । आङ पेम्बा टानका पूर्व महासचिव पनि हुन् ।
त्यस्तै सचिवमा शिवहादुर सापकोटा, कोषाध्यक्षमा फुरी गेल्जेन शेर्पा उम्मेदवार बनेका छन् ।
यो प्यानलबाट सदस्यमा कान्छा नुर्बु शेर्पा, लाक्पा डेण्डी शेर्पा, दावटासी शेर्पा, आङदावा शेर्पा, फुरदिकी शेर्पा, दाबुटी शेर्पा, लक्ष्मी तामाङ, पेम्बा शेर्पा, चेङ्गा छिरिङ शेर्पा, पासाङ शेर्पा र किसान गुरुङ सदस्यमा उम्मेदवार बनेका छन् ।
संघकाे नयाँ नेतृत्वका लागि जेठ २७ गते निर्वाचन हुँदैछ ।
संघलाई कमाइखाने माध्यम बनाएर बसेका राजनीतिक दल आबद्ध केही व्यक्तिहरुको सिण्डिकेटविरुद्ध हिमाल आरोहणलाई नै पेशा बनाएका प्रतिष्ठित आरोही तथा व्यवसायीहरु समूह भएको यो समूहको दाबी छ ।
बरिष्ठ उपाध्यक्षमा ६ दलीय गठबन्धनबाट माओवादी नेता ठाकुर पाण्डे उम्मेदवार छन् । यसपटक पर्यटन क्षेत्रमा आबद्ध दलका ठेकेदारहरुले सिण्डिकेट खडा गर्न खोजेपछि आरोही, व्यवसायी र मजदूरले विद्रोह गरेका हुन् ।
पर्वरोहण संघ कब्जा गर्न भएभरका सबै राजनीतिक दल एक ठाउँमा उभिएको आरोप छ । महिला आरोही माया शेर्पालाई बरिष्ठ उपाध्यक्षको उम्मेदवारबाट फिर्ता गराउँन राजनीतिक दलका नेताहरुले तीब्र दबाब समेत दिएको बुझिएको छ । यसप्रति आरोही तथा मजदूरहरु आक्रोशित भएका छन् । एकजना पेशेवर आरोहीलाई फिर्ता गरेर राजनीतिक दलका नेतालाई जिताउँन खोजिएको भन्दै आरोहीले विरोध समेत गरे ।
यो समूहले अध्यक्षमा भने उम्मेदवार उठाएको छैन । माया शेर्पा समूहले अध्यक्षमा निमा नुरु शेर्पालाई समर्थन जनाएको छ । माया शेर्पाको समूहमा आर्थिक रुपमा कतै विवादमा नपरेका र व्यवसायिक रुपमै पर्वतारोहण क्षेत्रमा क्रियाशील व्यक्तिहरु रहेको दाबी गर्छन् ।
आरोही, व्यसायी, गाइड तथा पर्यटन मजदूरहरु उम्मेदवार रहेको व्यवसायी तथा नेपाल पर्यटन बोर्डका सदस्य ङावा ङिमा शेर्पाले जानकारी दिए । नेपाल पर्वतारोहण संघ सबैभन्दा धेरै सदस्यहरु आबद्ध रहेको विश्वकै ठूलो अल्पाइन क्लव हो ।
पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष उम्मेदवार माया शेर्पाले संस्थामा देखिँदै आएको समस्या राजनीतिक खालको भएकाले अब व्यवसायी,मजदूर तथा आरोहीहरुको स्वतन्त्र प्यानलले आफ्नो जितपछि सबै विवाद निरुपणि गरेर साझा संस्था बनाउने बताइन् । महासचिव आङ पेम्बा शेर्पाले पर्वतीय पर्यटनको विकास, हिमालहरुका अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन तथा व्यवसायी, आरोही र मजदूरको समस्यालाई सरकारसँग समन्व्य गरेर समाधान गरिने बताए ।
