पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नाे नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घाेषणा गरेका छन् ।
मंगलबार काठमाडाैंकाे राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाे आयाेजना गरी उनले देशलाई चाहिएकाे जस्ताे दल बनाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणकाे घाेषणा गरेका हुन् ।
देशकाे जर्जर संरचना परिवर्तनका लागि राजनीतिक पार्टी बनाएर अघि बढ्ने भन्दै उनले भने, ‘यो जर्जर संरचना परिवर्तनका लागि नयाँ राजनीतिक पार्टीसँगै अघि बढ्छु । म यो देशलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्छु ।’
क्षमता भएका युवाहरुलाई आफ्नो पार्टीमा आवद्ध हुन आह्वान गर्दै लामिछानेले अरु पार्टीमा पनि राम्रा मान्छे रहेकाे बताए ।
उनले भने, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन्, तिनीहरूको सम्मान गर्नुपर्छ ।’
लामिछानेले आफ्नो पार्टीकाे एजेन्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री रहेको पनि बताए ।
उनले दलमा कोही पनि कार्यकर्ता बन्नुनपर्ने तर समर्थक हुन पाउने बताए । उनले पार्टीमा कुनै पनि भ्रातृ संगठन नहुनेसमेत प्रष्ट पारे ।
राष्ट्रिय स्वतन्त्र पार्टीकाे प्रारम्भिक कमिटीमा हाल २१ जना सदस्य रहेको उनले बताए । पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी हुने उनकाे भनाइ छ ।



