संसारकै धनी व्यक्ति एलन मस्ककी एक छोरीले अदालतमा आफ्ना बुवाबाट ‘अलग’ हुन निवेदन दिएकी छन् ।

अमेरिकी अखबार सिएनएनका अनुसार उनले आफ्ना बुवा एलन मस्कको नामबाट पहिचान नबनाउने भन्दै अदालतमा निवेदन दिएकी हुन् ।

उनले आफ्नो लैंगिक पहिचान, नाम-थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुबासँग कुनै पनि हिसाबले नाता जोड्न नचाहेको बताएकी छन् ।

एलनकी छोरी जेभियर अलेक्जेन्डर मस्कले यस्तो निवेदन दिएकी हुन् ।

१८ वर्षीया उनले आफ्नो नाम भिभियान जेना विल्सन राख्न चाहेको बताएकी छन् । विल्सन थर उनले आफ्नी आमा जस्टिन विल्सनबाट लिएकी हुन् ।

सन् २००० मा क्यानडाकी नागरिक जस्टिनसँग एलनले बिहे गरेका थिए ।

सन् २००८ मा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन् । एलनका सात सन्तानमध्ये पाँच जना जस्टिनका हुन्। तिनै पाँचमध्ये जेभियर एक हुन् ।

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला र अन्तरिक्षसम्बन्धी काम गर्ने स्पेस-एक्सका सिइओ एलन अहिले संसारकै धनाढ्य हुन् ।

उनको सम्पत्ति करिब दुई खर्ब १४ अर्ब डलर छ ।