योजना आयोग प्रदेश नं १ का उपाध्यक्ष डा. पूर्णकुमार लक्समले अबकाे राजनीतिलाई आयआर्जनसँग जोडिएन भने देश अत्यन्तै नाजुक अवस्थामा पुग्ने बताएका छन् ।
आइतबार झापाकाे बिर्तामोडमा आयोजित परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समितिसँगकाे अन्तरक्रियामा उनले याे कुरा बताएका हुन् ।
संविधानमा समाजवाद उन्मुख देश भनी उल्लेख गरिए पनि समृद्ध बन्ने योजना चाहिँ ल्याउन नसक्दा मुलुक संकटको घडीमा फस्दै गएकाे उनकाे भनाइ छ ।
प्रवद्र्धन समितिले घरेलु मदिरालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजना ल्याएकाे छ ।
तर, मदिरा ऐन ३१ र नियमावली ३२ ले केही प्रावधानमा अवरोध सिर्जना भएको हुँदा त्यसलाई फुकाउन दललाई झकझकाउनुपर्ने र घरेलु रक्सीबाट देशलाई हुने फाइदाका विषयमा चर्चा गर्नुपर्न डा. लक्समले बताए ।
सोही अवसरमा डा. लक्समलाई प्रर्वद्धन समितिले सम्मान समेत गरेको थियो ।
प्रवद्र्धन समितिका अध्यक्ष टेक खजुमको सभापतित्वमा भएको कार्यक्रममा बुद्धिजीवि देश वनेम, महिला नेतृ सरस्वती सिंघक, शान्ता तामाङ, दिलकुमार नेम्वाङ, बिरेन मेचे, एलपी पालुङ्वा लगायतले डा. लक्समसँग जिज्ञासा राख्दै आर्थिक आर्जनमा अगाडि बढाउन प्रवद्र्धन समिति प्रदेश सरकारलाई सहयोग गर्ने बताएका थिए ।
अन्तरक्रियापछि समितिले विभिन्न समिति समेत निर्माण गरेको छ भने प्रदेशस्तरीय प्रवद्र्धन समितिलाई फराकिलो बनाउन इलाम जिल्लाबाट साधना फागो, गीता याम्फु राई, मोरङबाट शान्ता तामाङ, संखुवासभाबाट नर्बु शेर्पा, सुनसरीबाट जेन्टल लावती, झापाबाट हरिमुनिया धिमाललाई मनोनयन गरेको छ ।
उक्त समितिले प्रदेशस्तरीय राजनीतिक दलसँग अन्तरक्रिया गर्दै काठमाण्डौका बुद्धिजीवि, जातीय संगठनका प्रमुख, अर्थविद्हरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
