खगेन्द्र संग्रौला ४ लाख नगदसहित ‘पहिचान सम्मान–२०७७’बाट सम्मानित

वरिष्ठ लेखक खगेन्द्र संग्रौलालाई ४ लाख २ हजार २ रुपैयाँ नगद तथा ताम्रपत्रसहित ‘पहिचान सम्मान–२०७७’ द्वारा सम्मान गरिएको छ ।

पहिचान पुरस्कार कोषले शनिबार काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा एक कार्यक्रमको आयोजना गरी संग्रौलालाई सम्मान गरेको हो ।

पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङले नेकपा एमालेका नेता अजम्बर राई काङमाङ र नेतृ रामकुमारी झाँक्रीको बिचमा दोसल्ला ओढाएर ताम्रपत्र र चेक संग्रौलालाई प्रदान गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको हातबाट संग्रौलालाई सम्मान गर्ने कार्यक्रम रहे पनि कोरोनाको जोखिम बढेका कारण उनी कार्यक्रममा सहभागी हुन सकेनन् ।

आफू उपस्थित हुन नसकेपछि उनले अडियो सन्देश पठाएर कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गरेका थिए । जसमा बैरागी काइँलाले पहिचानकाे विविध पक्षका साथै संग्रौलाका बारेमा बोलेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मालाई पनि बोलाइएको भए पनि उनी पनि उपस्थित हुन सकेनन् ।

पहिचान सम्मानबाट सम्मानित भएपछि लेखक संग्रौलाले आफ्नाे भनाइ राखेका थिए । सो क्रममा उनले आफूलाई सम्मान गर्नुको अर्थ भविश्यमा अझै केही गरोस् भन्ने आयोजकको अपेक्षा रहेको भए पनि आफू अब बुढो भएको बताएका थिए ।

सो क्रममा उनले नेपालमा पहिचानको आन्दोलन स्थापित भएरै छाड्ने दाबी समेत गरे ।

सो अवसरमा एमाले नेता अजम्बर राई काङमाङ, नेतृ रामकुमारी झाँक्री र लेखक तथा साहित्यकार राजन मुकारुङले पनि बोलेका थिए ।

कार्यक्रमको अन्तमा कोषका संस्थापक नरेश काङमाङले धन्यवादसहित कार्यक्रम समापन गरेका थिए ।

सदियौंदेखि राज्यसत्ताको उत्पीडनमा परेको आदिवासी जनजाति, दलित तथा सिमान्तकृत समुदायको पक्षमा आवाज उठाउँदै आएकाले संग्रौलालाई सम्मान गरिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्