ईन्टरनेशनल म्युजिक डे (अन्तर्राष्ट्रिय संगीत दिवस) को अवसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको ‘रामकृष्ण ढकाल साँझ’ भव्य रूपमा सम्पन्न भएको छ।

नेपाली सुगम संगीतका सदाबहार गायक रामकृष्ण ढकालले कार्यक्रमको सुरुआत हार्मोनियममा स्वयम् संगीत दिँदै देशप्रेम भावले ओतप्रोत गीत “बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्…” गाएर गरे। उनको स्वरसँगै हल दर्शकहरूको गडगडाहट तालीले गुञ्जायमान बनेको थियो।

विदेशी भूमिमा रहेका नेपाली दर्शकहरू आफ्नो जन्मभूमिको सम्झनामा भावुक बनेका दृश्यहरू देखिन्थे।

ब्राम्पटनको भुखाराग्रील रेस्टुरेन्टको हलमा आयोजित उक्त कार्यक्रम खचाखच भरिएको थियो।

गायक ढकालले “चरीले त छाडेर गइगयो…,” “मन पराउने हजार भेटिन्छन्…,” “माया गर्नेको…,”“ओराली लागेको…” जस्ता लोकप्रिय गीतहरू गिटार, तबला र हार्मोनियमको तालमा प्रत्यक्ष प्रस्तुत गर्दा दर्शकहरू झुमेका थिए।

कोही भावुक त कोही साथमा गाएर उत्साही देखिएका थिए।

कार्यक्रममा ढकालले स्वर सम्राट स्व. नारायण गोपालका केही गीतहरू र युगल गीत पनि प्रस्तुत गरे।

युगल गायनमा उनलाई गायिका रीता बुर्लाकोटीले साथ दिएकी थिइन्। तबलामा सन्तोष घिमिरे र गिटारमा उदयराज पौडेलले साथ दिएका थिए।

एकल साँझ कार्यक्रम २०८१ असार ७ गते शनिबार (जुन २१ तारिख) सम्पन्न भएको थियो।

कार्यक्रमका आयोजक सदस्य घनश्याम भट्टराईले प्रवासमा रहेका नेपालीहरू तथा नेपाली संगीतप्रेमीहरूका लागि यो एक अविस्मरणीय सांगीतिक साँझ भएको बताएका छन्।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सहभागी तथा सहृदयी नेपालीहरूप्रति आयोजक समितिका अध्यक्ष कमल ज्ञवालीले धन्यवाद ज्ञापन गरेका थिए।

सामाजिक उत्तरदायित्व: बचत रकम मन्दिरलाई सहयोग

‘रामकृष्ण ढकाल साँझ’ कार्यक्रमबाट बचत भएको रकम ब्राम्पटनस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पूजा–अर्चना गरी हस्तान्तरण गरिएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमका संयोजक ऋषि पोख्रेलले आइतबार बिहान मन्दिरमा आयोजित विशेष पूजाका बीच उक्त रकम हस्तान्तरण गरिएको जानकारी दिएका हुन्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here