कवि एमबी थुलुङ राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार’

वाम्बुले मातृभाषाका कवि एमबी थुलुङलाई २०७७ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ  ।

वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका पूर्णाङ्क ८३, २०७७ कात्तिक–पुस अंकमा प्रकाशित ‘आ कुपि ब्अिम्सै ख्राङ्मे’ (मेरो भाग्य सम्झिदै रुन्छु) शीर्षक गीत छनोटमा परेको हो ।

२०५६ सालदेखि उक्त पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई पुरस्कृत गरिदैआएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

यस गीति कविता वाम्बुले राई समुदायमा परापूर्वकालदेखि गाइदै आएको राम्दले भाकामा रचना गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका प्रेमी र गाउँघरमा रहेकी प्रेमिकाबीच प्रेम आलापका रूपमा आफ्ना सुखदुःख, अतितदेखि वर्तमानको संवाद रहेको छ ।

गाउँघरमा खेपेको दुःख पन्छाउन मुग्लान भासिएको तर हरपल जन्मथलोको सम्झना गरिरहने प्रेमी उही सुन्दर गाउँघरकै खबर सोध्छन् ।

प्रेमिकाले गाउँघरमा खडेरीले पाखापखेरमा वनजंगल उजाडिएको सुनाउँछ । परदेशमा रहेका प्रेमीको सफलता, सुखशान्तिका निम्ति लिब्जु भुम्जु देउता भाकेको, दुधकोसी र सुनकोसीमा ग्रहदशा बगाएको जवाफ फर्काउँछिन् ।

प्रस्तुत गीति भाकाले प्रदेश–१ ओखलढुंगाको दक्षिणी भेगको सामाजिक लोक जनजीवन, सांस्कृतिक परम्परा, मूल्यमान्यता, चालचलनलाई प्रतिबिम्बित गरेको छ । पुरस्कारका निम्ति छनोट भएको उक्त राम्दले भाका राज राईको संगीतमा राज राई र एलिना राईले गाएका छन् ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ३ उँबु गाउँ निवासी कवि एमबी थुलुङ वाम्बुले मातृभाषी कवि हुन् ।

पापा धनपाल राई र मामा वृद्धमाया राईको कान्छो छोराका रूपमा २०४० साल माघ २ गते जन्मेका कवि थुलुङको पूरा नाम मनबहादुर राई हो । उनी हाल दक्षिण कोरियामा कार्यरत छन् ।

थुलुङ भाषा छुट्टै रहे पनि कवि एमबी वाम्बुले राई समुदायमा परापूर्व कालदेखि रहँदैआएकाले उनकाे मातृभाषा वाम्बुले तथा मुन्दुम संस्कृति वाम्बुले नै हो । उनले एक दशकभन्दा बढी समयदेखि वाम्बुले भाषामा रचना सिर्जना गर्दै आएका छन् ।

नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले मातृभाषाका स्रष्टा प्रवद्र्धन गर्ने उद्देश्यले २०५५ सालमा पत्रिकाको नाममा ‘लिब्जु–भुम्जु पुरस्कार’ स्थापना गरेका हुन् ।

यो पुरस्कारबाट हालसम्म १९ जना कविहरू पुरस्कृत भइसकेका छन् । पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ । सो पुरस्कार कवि स्वदेश आएपछि उपयुक्त समयमा प्रदान गरिनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्