कर्णालीमा सुन अभाव, १६ करोडको कारोबार रोकियो

कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो ।

प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ । यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले बताए ।

‘दुई महिनाको बन्दले एकातिर व्यवसाय पूर्णरूपमा बन्द छ भने अर्कोतिर नेपाल राष्ट्र बैंकबाट उपलब्ध हुने सुन समानुपातिक ढङ्गले वितरण हुँदैन। यसले गर्दा यो दुई महिनको अवधिमा रु १६ करोडको कारोबार हुन सकेन,’ उनले भने ।

अध्यक्ष सुनारका अनुसार नेपाल राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासङ्घलाई दैनिक २० केजी सुन उपलब्ध गराउँदै आएकामा रत्न आभूषण तथा पत्थर व्यवसायी महासङ्घलाई ४० प्रतिशत र सुनचाँदी व्यवसायी महासङ्घलाई ६० प्रतिशत छुट्याउने गरिएको छ र सुनचाँदी व्यवसायी महासङ्घले सुनचाँदी वितरण कार्यविधि, २०६८ का आधारमा त्यो ६० प्रतिशतलाई १०० प्रतिशत मानेर ६० प्रतिशत उपत्यका र ४० प्रतिशत बाहिर जिल्लामा पठाउँछ ।

चालिस प्रतिशत सुन उपत्यका बाहिरका महासङ्घ आबद्ध ४०–४५ जिल्लाका व्यवसायी सङ्घलाई पठाउँदा मागअनुसारको पूर्ति हुन नसकेको अध्यक्ष सुनारले बताए ।

‘कर्णालीमा करिब १० केजी सुन आवश्यक पर्दछ, तर मासिक एकदेखि तीन केजी सुन आउने गरेको छ। यसले सुन वितरण प्रणालीमा विभेदीकरण बढ्दै गएको छ । यो अवस्था हटाउन सातै प्रदेशस्थित सङ्घका अध्यक्षहरुले स्थायी लेखा नम्बर (प्यान) का आधारमा सुन वितरण माग राख्दै आएका छौँ,’ उनले भने ।

सरकारले महासङ्घलाई दैनिक ४०/५० केजी सुन उपलब्ध गराउनुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

‘हामीले लुटिने, मारिने असुरक्षाका बीचबाट अहिलेसम्म काठमाडौँ पुगेर सुन ल्याउनुपर्ने बाध्यता छ तर अब नेपाल राष्ट्र बैंकको कार्यालय कर्णालीमा स्थापना भइसकेकाले यहीँबाट सुन वितरणको व्यवस्थापन मिलाउन आग्रह गर्दछौँ,’ उनले भने ।

सुन व्यवसायीलाई रु ५० लाख घाटा

कर्णालीका सुनचाँदी व्यवसायीलाई यो दुई महिनाको अवधिमा रु ५० लाख बराबरको घाटा भएको छ ।

निषेधाज्ञाले सुनको कारोबार ठप्प हुँदा रु ५० लाख बराबरको घाटा बेहोर्नुपरेको सङ्घका कर्णाली प्रदेशका अध्यक्ष सुनारले बताए ।

‘कर्णाली प्रदेशभरिमा ६०० सुन व्यवसायी छन् । एक जना व्यवसायीसँग दुई/तीन कालिगडले काम गर्छन् । ती सबैको व्यवसाय बन्द हुँदा यो दुई महिनाको अन्तरालमा करिब एक हजार ५०० कालिगडको जागिर खोसिएको छ भने सुन व्यवसायीले पनि लाखौँको घाटा बेहोर्नुपरेको छ’, उनले भने ।

काँचो सुन नहुँदा धेरै कालिगड बेरोजगार रहेको उनको भनाइ छ । कर्णालीमा मासिक १० केजी सुन आउन सके करिब चार हजारलाई रोजगार दिन सकिने दाबी उनको छ ।

यद्यपि पहुँचका आधारमा सुन वितरण हुने परम्पराले कर्णालीमा सुन अभाव हुँदै गएकाले तत्काल सबै व्यवसायीलाई प्यानका आधारमा सुन वितरण गर्न सङ्घ, कर्णाली प्रदेशले सरकारसँग माग गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्