Monday, November 28, 2022
10.6 C
Diktel

बाँसः सुपर घाँस, जादु घाँस र हरियाे सुन

हरियाे वन नेपालकाे धन

Subtitle

बाँस हरियाली घाँसको परिवारभित्र पर्दछ । संसारमा १२०० देखि १५०० जातिकाे बाँस पाइन्छ । बाँस मानिसको जन्मदेखि मरणसम्म प्रयोग हुने सामान हाे । बच्चा जन्मदा साल (नाइटो) काट्दा चक्कुले काटेमा इन्फेक्सन हुन्छ भनेर बाँसको चोइटाले साल काट्नेदेखि मानिस मरेपछि बाँसकै खट बाँधेर लाने चलन चलिआएकै छ । त्यसपछि, १३ दिनसम्म पिण्ड दिनको लागि बाँसकै ढुकुरीभित्र पिण्ड दिने चलन छ ।

बाँस हाम्रो दिनचर्यामा प्रयोग भएको त छँदैछ, अहिले आएर बाँसको प्रयोग र त्यसकाे फाइदा धेरै देखिन थालेको छ । हामीकहाँ बाँसको सामान प्रयोग भए पनि फिनिसिङ हेर्दा चिटिक्क राम्रो नदेखिएको कारण र बाँसको सामानको प्रयोगमा त्यति ज्ञान नभएको कारणले पनि बजारमा आउन सकेको थिएन । अहिले केही उद्यमी लागि परेका छन् । तर भनेको जस्तो सामान उत्पादन गर्नका लागि त्यसअनुसारको बाँस उत्पादन नेपालमा नपाइने भएकोले भारतबाट आयात गर्नु परेको व्यवसायी बताउँछन् ।

बाँस धेरै बलियो हुन्छ, कुनै पनि रासायनिक पदार्थले हतपत यसलाई नष्ट गर्न सक्दैन । दोस्रो विश्वयुद्धमा जब अमेरिकाले हिरोसिमा र नागासाकीमा बम्ब खसालेको थियो त्यहाँ जीवजन्तु र घाँसपात केही पनि बाँकी रहेको थिएन । तर बाँसलाई भने केही गर्न सकिएन ।

बाँस विभिन्न देशमा आ-आफ्नो संस्कृतिअनुसार प्रयोगमा ल्याइन्छ । र बाँसलाई वरदानको रुपमा पनि लिइन्छ । जस्तो बर्मामा बाँसको गाँठबाट नै मानिसको उत्पत्ति भएको भन्ने कहावत छ । बाँसलाई बुद्ध धर्मसँग पनि जोडिएको पाइन्छ । बुद्ध धर्मालम्वीहरु धेरैजसो बाँसको टुसा खाएर नै जिवन बिताउने गर्दथे र यसलाई बुद्ध धर्मको उपनाम दिइएको पनि पाइन्छ ।

“प्रकृतिले जहिले पनि हामीसँग बोलिरहेको हुन्छ, प्रकृतिका हरेक चिज पहाड, नदी, विरुवा र रूखहरु तिम्रो गुरु हुन सक्छ” -मोरिहेइ ‌उयसिवा- जापानिज मार्सल आर्ट गुरु ।

बाँसबाट भनुँ वा प्रकृतिबाट धेरै कुरा सिक्नु पर्दछ, उनीहरु बाेल्न सक्दैनन् तर हामीले प्रकृतिले बोलेको बुझ्नुपर्दछ भनि जापानिज संस्कृतिले सिकाउँछ। जस्तो बाँस स्टिल भन्दा बलियो छ तर कहिल्यै घमण्डी गर्दैन जहिले पनि निहुरिएर बस्छ। त्यसैले मानिस पनि पहिला आफू भौतिक र वाैद्धिकतामा बलियो हुन सिक्नु पर्छ । त्यस्तो मानिस झगडा गर्दैन । जहिले पनि सालिन भएर आफ्नो काम फत्ते गर्दछ । बाँस निहुरिन्छ तर भाचिदैन । जसले उज्यालोमा शक्ति बनाउन सक्छ । त्यहाँ दया र करणा हुन्छ र सहयोग पनि हुन्छ । जापानिज संस्कृति र संस्कार यही सिद्धान्तमा आधारित छ । बाँसबाट सिकिने पाठ धैर्यता र लचकतामा रहनू

चीनमा बुद्ध धर्मको अनुयायी धेरै भएकोले पनि हुन सक्छ चीनमा बाँसको टुसाको धेरै परिकार बनाएर खान्छन् । चीनमा टुसालाई मुख्य सांस्कृतिक खानाकै रुपमा लिइन्छ । अहिले २१औ शताब्दीमा आएर पेट्रोल, डिजल र कोइलाको उतखनन् र विभिन्‍न किसिमको औद्याेगीकरणले गर्दा पर्यावरणमा ह्रास आएको र बर्षमा २ डिग्री सेन्टिग्रेड तापक्रम बढ्दै गएको छ र साथै जमिनमुनिको पानीको सतह घट्दै गएको छ। यसले गर्दा पृथ्वीको भविष्य र मानिसको भविष्यमा पनि प्रश्न चिन्ह खडा भएको छ । पृथ्वी नरहे मानिस रहन्दैन भन्ने कुरा सर्वविदितै छ । हामी मानव जातिमा पृथ्वी कसरी बचाउने भन्ने एउटा चुनौतीको रूपमा प्रश्न तेर्सिएको छ ।

हुन त बाँसको खेती एसियामा चीन, भारत, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया र बर्मामा खेतीकै रुपमा गरिन्छ । ल्याटिन अमेरिका, अफ्रिका र केही अरेवियन देशमा पनि खेती गरिन्छ । नेपालमा अरु एसियाली देशमा जस्तो बाँसको उत्पादन गर्न सकेका छैनौं । बाँस खेती संसारको कुनै भुभागमा पनि गर्न सकिन्छ । जहाँ घाँस उम्रिन्छ त्यहाँ बाँसको खेती गर्न सकिन्छ। तापक्रम अनुसार बाँस -१५ डिग्रीदेखि +४७ डिग्री चाइनिज मोजो बाँसको खेती गर्न सकिन्छ ।

आजकल जलवायु परिवर्तनबाट मानिसको भविष्य नै संकटमा परेको छ । सबै गाउँ तथा शहरी वस्तीहरु पखालिएर समुन्द्रमा मिसिन पुगेका छन् । दुर्लभ संसाधनहरुमा विश्वभर द्वन्द्व  भइराखेको छ। प्रत्येक बर्ष धेरै परिवारहरु जवरजस्ती चरम् मौसमी घटनाहरूबाट विस्थापित हुँदै गएका छन् र चरम् गरिबी, तीब्र भोक र असुरक्षाको एउटा चक्र (परिवेश) सिर्जना भएको छ ।

अर्कोतिर जमिन मुनिको पानि सतह घट्दै जानु, कार्वनको मात्रामा बढ्दै जानु, पिउने पानी र सिंचाइको पानीमा कमी हुँदै जानु र तापक्रम बढ्दै जानु यो अहिले मानवजातिको अगाडि चुनौतीको रूपमा रहेको छ । यी समस्यालाई समाधान वा सम्बोधन गर्न पेरिस सम्झौताले केही निर्णय लिएको छ ।

तिनमा मुख्य हुन् २०२१ सम्म कार्बनको ३० प्रतिशतले न्यूनीकरण गर्नु थियो । पेरिस सम्झौतामा दस्तखत गर्ने १३२ राष्ट्रमध्ये नेपाल पनि एक हो। तर नेपालले यसकाे विषयमा केही सोचे जस्तो र कुनै क्रियाकलाप अघि बढाएको जस्तो लाग्दैन । अरुको मुख ताकेर मात्र  हुँदैन। मानवताको दिर्घकालिन अस्तित्व सुनिश्चित गर्न नेपालले पनि सक्रिय उपायहरू अपनाउनुपर्ने  हुन्छ । हाम्रो सोच र लगानी साझा मानवता, देशको अर्थ व्यवस्था र पृथ्वीको भविष्यमा पनि ध्यान पुग्न आवश्यक देखिन्छ ।

सबै रुख विरुवाको अध्ययनपछि सारांशमा पुग्न सकिन्छ कि पृथ्वीले नै वरदानको रुपमा हामीलाई दिएको छ बाँस । अहिले  बाँसको सही तरिकाले खेती गर्नाले तत्कालिन समस्याको देखिएको पर्यावरण, वातावरण समस्यालाई समाधान गर्न सकिन्छ र देशलाई नै ती समस्याबाट बचाउन सकिन्छ भने अर्कोतिर आर्थिक रुपान्तरणमा टेवा दिइ गरिबी निवारणमा पनि टेवा दिन्छ ।

बाँसबाट पर्यावरण बचाउन निम्न कुराको सहयोग पुग्दछ, जस्तोः

१. बाँस छिटो हुर्कन सक्ने विरुवा भएकोले अरु विरुवाको तुलनामा उच्च मात्रामा (३५ प्रतिशत) कार्वन संचित राख्न क्षमता राख्दछ । त्यसैगरि ३५ प्रतिशत अक्सिजन बढी फाल्ने क्षमता राख्छ ।

२. बाँसलाई कोइलामा रुपान्तरण गर्न इन्धनको विकल्पको रूपमा प्रयोग गरिन्छ र मौसम परिवर्तन कम गर्न थप अवसरहरु प्रदान गर्न सकिन्छ ।

३. भूक्षय नियन्त्रण र पानी संरक्षण गर्न

४. नदीको किनार नियन्त्रण गर्न

५. वायु प्रतिरोध गर्न उच्च क्षमता राख्दछ

६. बाँसबाट पानीको उत्पादन बढाउन सहयोग पुर्याउँदछ ।

७. बन्य जिवन र जैविक विविधता कायम राख्न्छ ।

८. यो माटो र बाँसको तहहरुमा किराका प्रजातिहरुका लागि खाना र आवास प्रदान गर्दछ।

बाँसलाई नै आधार बनाएर जिउने जीव जन्तु, विशाल पाण्डा हुन् । यसले बाँसको डाठ र टुसा खाने गर्दछ । त्यस्तै हात्ति र खैरो विटस पनि हुन् । बाँसको निम्न भौतिक गुण भएकोले धेरै प्रकारले प्रयोग गर्न सकिन्छ।

-उच्च तहको लचकता (तनाव) शक्ति

– उच्च संकुचित शक्ति

-हल्का तौल

यसलाई निर्माण सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ । भवन, पुल, मचान, वास्तुकला, विभिन्न डिजाइन, सामान्यतः हलुका र भुकम्प प्रतिरोधात्मक भवन बनाउन सकिन्छ । हालको समयमा बाँसबाट फर्निचर, बास्केट, सांगीतिक वाध्य यन्त्रहरु,  लत्ता कपडा, कागज, हस्तकला, खेलौना, सजावट सामाग्री, साइकल, हेलिकप्टर र हेलिकप्टरमा प्रयोग हुने इन्धन र मुल्य अभिवृद्धिमा लागु हुने जस्तोः होटेल भवन, एयरपोर्ट  (बैंगलोरमा अन्तर्राष्ट्रिय विमानस्थल बाँसको बन्दैछ) आदि । माल्दिभ्समा अन्तर्राष्ट्रिय अतिथि भवन बाँसको बन्दैछ । धरै वर्ष पहिले अमेरिकामा थोमस एडिसनले बिजुलीको वल्वको फिलामेन्ट बाँसको बनाएका थिए जो आजसम्म बलेको छ ।

खानेकुरा हरुमा:

बाँसका टुसाहरु गुलियो, प्रोटिनयुक्त, बोसो र खनिज तत्व भएको हुन्छ। त्यसैले स्वभाविक रुपमा स्वस्थ खानामा लिइन्छ।बाँसको टुसाहरु चाइनिज खानाको एक अंश बनेको हुन्छ । बाँसको जुस, वियर र भिनेगर जस्ता केही नयाँ खानाहरुको विकास हुँदैछ ।

बाँसको खेती गर्नाले पर्यावरण, वातावरणको बचाउ गरी भविष्यको पृथ्वीलाई बचाउन सक्ने र विभिन्न साना मझाैला उद्योग स्थापना गरि सामाजिक आर्थिक रूपान्तरणमा ठूलो टेवा दिन सक्ने भएकोले बाँसलाई सुपर घाँस र जादु घाँस मात्र नभै यसलाई हरियो सुन पनि भन्ने गरिन्छ । र कसैकसैले यसलाई एटिएम कार्ड पनि भन्ने गर्छन् । यी कुराहरु भारतीय किसानका अनुभवमा भनिएका र निकालिएका शव्दहरु हुन् ।

सुपर घाँस

एक दिनमा एक मिटरसम्म बढ्छ । यसकाे उचाइ ३०-५० मिटरसम्म हुन्छ । डायमिटर व्यास १० इन्चसम्म हुन्छ । यसले पर्यावरण र तापक्रमको समस्या समाधानमा ठूलो योगदान पुर्‍याउने गर्दछ । अंग्रेजीमा भनिन्छ बाँस “The first year it sleeps, the second year it creeps, the third year it leaps.”

जादु घाँस

यो एकचोटि लगाएपछि १०० वर्षसम्म लगाउनु पर्दैन । चौथो वर्षपछि आम्दानी दिन सुरु गर्छ र हरेक वर्ष आम्दानी दोब्बर बनाउँदै लान्छ । मर्मत सम्भार भनेको सुन्य । त्यसैले बाँसलाई एकचोटिको लगानी सयौं वर्षको आम्दानी पनि भनिन्छ । यसलाई हरियो सुन पनि भनिन्छ । चौथो वर्षपछि कुनै पनि बेला आफ्नो अनुकुलतामा आफ्नाे आवस्यकता अनुसार बाँस बेच्न सक्ने भएकोले यसलाई ATM कार्ड पनि भनिन्छ ।

पर्यावरण र तापक्रमको समस्याले गर्दा विकसित राष्ट्रहरुले पनि यसकाे समाधानको लागि चिन्ता व्यक्त गरेका छन् र बाँस उत्पादन हुने ४७ देशहरूको एउटा संस्था बनेको छ । त्यो हो The International Network Bamboo and Rattan Organization (INBAR) यो संस्था राष्ट्रहरूको प्रतिनिधित्व गर्ने संस्था हो र नेपाल पनि यसकाे सदस्य छ ।

यसको  मिसन “रणनीतिक र अनुकुल अनुसन्धान र विकासको सुदृढिकरण, समन्वय समर्थन गरि दिगो बाँस र वेत स्रोतको आधारको सन्दर्भमा बाँस र वेतका उत्पादकहरु र प्रयोगकर्ताहरुको भलाइको सुधार गर्नु हो । यसकाे प्रधान कार्यालय चीनमा छ । शाखा कार्यालयहरु भारत र अन्य देशमा पनि छन् ।

विभिन्न राष्ट्रहरूले आफ्नाे तत्कालीन आवश्यकता अनुसार बाँसको प्रयोग ठूलो मात्रामा गरेको पाइन्छ जस्तो:

एक्वाडरले बाँसको खपत हुने गरि सरकारी आवासीय योजना बनाए भने फिलिपिन्समा स्कूलका विद्यार्थीहरुका लागि फर्निचर बनाइदिए । सरकारी कार्यालयहरुमा बाँसको फर्निचर लगाउने निर्णय गरेका छन् ।

अहिले मुख्य गरि कार्बन उत्सर्ग हुने सामानहरु जस्तो स्टिल, प्लास्टिक, आल्मुनियम र पिभिसिको बदलाव गर्न बाँसको प्रयोग अत्यावश्यक देखिएको छ ।

आज विश्वमा अत्यधिक बाँसको खेती गर्ने भारत १ नं मा पर्दछ । जसले  १६ मिलियन हेक्टर क्षेत्रफलमा बाँसको खेती गर्दछ भने चीनले ६,५ मिलियन हेक्टरमा बाँसको खेती गर्दछ । तर भारतले १०-१२ हजार करोड डलरको उत्पादन गर्दछ भने चीनले ९०००० डलरको उत्पादन गर्दछ ।

यसको मुख्य कारण भारतको व्यवस्थापनको क्षमता र मुल्य अतिरिक्त उत्पादनमा ज्ञानको कमी भएको देखिन्छ । यी सबै  छिमेकी राष्ट्रहरूको अनुभव र ज्ञानलाई मध्यनजर राख्दै नेपालले पनि पर्यावरण र वातावरण बचाउन तदारुकताका साथ पहल गर्नुपर्ने देखिन्छ । बाँसबाट पर्यावरण र तापक्रमको समस्यालाई मात्र नभै, बाँसलाई आर्थिक उन्नतिको टेवा दिने साना तथा मझौला उद्याेगको स्तरमा स्थापित गर्न खेतीकै रुपमा किन सुरू नगर्ने ? हाम्रो जस्तो देश “हरियो वन नेपालको धन” भन्ने उद्देश्य लिएर अगाडि बढेको देश विभिन्न सानातिना राजनीतिमा अलमलिएर उतपादनमुखी व्यवसायबाट टाढा रहेर देशको विकास त पक्कै हुँदैन ।

त्यसैले समयमा नै सरकारको ध्यान पुग्नु पर्ने देखिन्छ । बाँसको प्रकृतिलाई राम्रोसित बुझेको खण्डमा यसले गाँस, बास, कपासको व्यवस्थापन गर्नमा ठूलो योगदान पुर्‍याउँदछ । बाँसलाई मृत शरीर मात्र बाेकेर लाने हैन यसले मानिसको जिन्दगीभरको आर्थिक भार नै बाेकेर लान्छ । त्यसैले बाँसको खेती गर्न जनतालाई जागरुक गरि आवश्यक इन्सेन्टिभसहित सहभागिता गराउन राज्यले बलियो कदम चाल्नु पर्छ । सरकारले पञ्चवर्षीय  योजनामा “बाँस मिसन” लागू गराेस् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्